
गत बुधबार अर्थात् शिवरात्रिको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को नयाँ गीत ‘कैले घाममा कैले छायाँमा’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको चौथो दिन सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना छ भने सुगम पोखरेलको गायन छ । कथा खुल्ने डरले निर्माण टिमले यो गीत फिल्म रिलिजअघि सार्वजनिक नगरेको हो ।

शिवरात्रिको अवसर पारेर गत बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ घरेलु बक्स अफिसमा अपेक्षित रुपमा चल्न सकेको छैन । शनिबारसहित तीन दिनको विदामा एकाध शोहरु हाउसफुल भए पनि धेरै शो दर्शक अभावले रद्द हुन पुगे । आइतबारबाट फिल्मको अकुपेन्सी झनै दयनीय बनेको देखिन्छ । फिल्मले दर्शकको अपेक्षित साथ नपाएपछि निर्माण टिममा निराशा छाएको छ ।


निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सकाएका छन् । कास्कीको घाचोकपछि काठमाडौंमा अन्तिम चरणको छायांकन गर्दै ३५ दिनमा शुक्रबार फिल्म प्याकअप भएको हो । इन्डक्ल्यापमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य खिचिएको थियो । फिल्मको घाचोकमा ३३ दिन र काठमाडौंमा २ दिन छायांकन भएको हो ।


नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर निर्माण भएको फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टोलीको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।