
आगामी मार्च १४ (३० फागुन)मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)का लागि नेपालको छनोट समितिले फिल्मको आवेदन माग गरेको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै ओस्कारको सम्पूर्ण मापदण्ड पूरा गरेका नेपाली फिल्महरूलाई यही भाद्र २२ गते (सेप्टेम्बर ७, २०२६) अगावै आवेदन दिन आह्वान गरेको हो ।
ओस्कारको प्रतिस्पर्धामा सहभागी हुनका लागि फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शनका लागि अनुमति पाएको हुनुपर्नेछ भने २०८२ असोज १५ (१ अक्टोबर २०२५)देखि २०८३ असोज १४ (३० सेप्टेम्बर २०२६)भित्र हलमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्नेछ । फिल्म लगातार कम्तीमा सात दिनसम्म हलमा प्रदर्शन भएको हुनुपर्ने पनि ओस्कारको प्रावधानमा छ ।
छनोट समितिका अनुसार अमेरिका र यसका भूभागबाहेक अन्य देशका हलमा टिकट काटेर लगातार सात दिन प्रदर्शन भएका फिल्मलाई पनि ओस्कारमा मान्यता दिइनेछ । यदि यो सर्त पूरा नभएको खण्डमा, फिल्मले ओस्कारले तोकेका विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरू (बर्लिन, कान्स, टोरोन्टो आदि)मा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ ।
त्यस्तै, फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एकजना नेपाली नागरिक हुनुपर्ने र फिल्ममा नेपाली परिवेश झल्किएको हुनुपर्ने सर्त राखिएको छ । फिल्ममा अनिवार्य रूपमा अङ्ग्रेजी सब-टाइटलसहित ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा पनि हुनुपर्नेछ । छनोटमा परेको खण्डमा फिल्मले ओस्कारको प्राविधिक मापदण्ड समेत पूरा गर्नुपर्ने जनाइएको छ ।
ओस्कारमा नेपाली फिल्मले ‘बेस्ट फरेन ल्याङ्ग्वेज’ (गैर-अंग्रेजी भाषी फिल्म)मा प्रतिस्पर्धा गर्न पाउँछन् । गत वर्ष मिलन चाम्सको निर्देशनमा बनेको बायोपिक फिल्म ‘अञ्जिला’ नेपालको तर्फबाट ओस्कारमा छनोट भएको थियो । त्यसअघि ‘शाम्बाला’, ‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘बुलबुल’ जस्ता फिल्मले ओस्कारमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

