
‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनरामा बन्ने फिल्मको पोस्टरमा अभिनेत्री द्वय पूजा शर्मा र कविता नेपाली आमनेसामने देखिएका छन् । दुवैको अनुहारमा रिसको आवेग देखिन्छ । यसले पूजा र कविताको टकरावमा फिल्म केन्द्रित रहेको स्पष्ट संकेत गर्छ ।
पोस्टरमा पूजाको गालामा धारिलो वस्तुले काटेको दाग देखिन्छ । कविताको निधारमा पनि त्यस्तै चोटको निशान छ । यसले उनीहरूबीच ठूलो लडाइँ भएको देखाउँछ । कविताले कम्मरमा पेस्तोल पनि भिरेकी छन् । पोस्टरको पृष्ठभूमिमा चट्याङको दृश्य राखिनुले फिल्म दुई महिला पात्रको दुश्मनीको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
पूजा र कविता पहिलो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् । यसैले पनि फिल्मप्रति दर्शकमा उत्साह बढेको छ । फिल्ममा उनीहरू एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । पूजा र कवितासहित फिल्ममा अभिनेता पुष्प खड्काको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारको बारेमा भने निर्माण पक्षले जानकारी दिएको छैन ।
दुई श्रृंखलामा निर्माण हुने यस फिल्ममा सुमन गजमेरको पटकथा तथा संवाद लेखन रहेको छ । सुमनले यसअघि ‘रंगी’ लेखेका थिए । फिल्मको निर्मातामा रामकृष्ण खरेल र अनुप गदाल रहेका छन् । जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौ अन्तिम साताबाट सुरु हुने जनाइएको छ । फिल्मलाई २०२७ (२०८४)मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

