Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाले पहिलो फिल्ममा क्राइम थ्रिलर नै किन रोजिन् ?

फिल्मीखबर, काठमाडौं, 2026/08/18

Priyanka Karki

 

अभिनेत्री प्रियंका कार्कीको करिअरले आगामी मंसिरमा १५ वर्ष पूरा गर्दैछ । सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘थ्री लभर्स’बाट अभिनय करिअर सुरु गरेकी उनले यो बीचमा ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अभिनयमा आफूलाई अब्बल सावित गरेकी उनी अब निर्माताको रूपमा अगाडि बढेकी छन् । उनी निर्मित पहिलो फिल्म ‘मास्टर्नी’ यही शुक्रबार प्रदर्शन हुँदैछ ।

प्रियंकाले ‘लक्का जवान’ रिलिजताका नै फिल्म बनाउन लागेको जानकारी दिएकी थिइन् । त्यसबेला धेरैले उनले बनाउने फिल्म कमेडी वा लभस्टोरी हुने अनुमान गरेका थिए । किनकि, उनी यही जनराका फिल्मबाट दर्शकमाझ चिनिएकी हुन् । तर, उनले ‘मास्टर्नी’लाई क्राइम थ्रिलर जनरामा बनाएकी छन् । जबकि, यो जनरा नेपालमा व्यावसायिक हिसाबले जोखिमपूर्ण मानिन्छ । 

आखिर प्रियंकाले पहिलो फिल्ममै क्राइम थ्रिलर जनरा किन रोजिन् त ? यसबारे उनी भन्छिन्, ‘क्राइम थ्रिलर मेरो एकदमै मनपर्ने जनरा हो । र, मलाई के लाग्छ भने नेपालमा सबै किसिमको जनरामा फिल्म बन्नुपर्छ ।’ पछिल्लो समय पारिवारिक कथामा बनेका फिल्म बढी सफल भइरहेको अवस्थामा आफूले गरेको आँट अरु निर्माताका लागि पनि रहेको उनको भनाइ छ । 

उनी अगाडि भन्छिन्, ‘अहिले धेरैले फरक जनरामा फिल्म बनाउने आँट नै गर्नु हुँदैन । किनकि, अहिले अर्कै किसिमका फिल्म चलिरहेका छन् । यो अवस्थामा हामी अलिकति भए पनि फिल्म बुझेको मान्छेले यो रिक्स लियौँ भने अरु धेरैलाई फरक जनरामा फिल्म बनाउन आँट आउँछ भनेर पनि हो । मुख्यतः म आफैँलाई एकदमै मनपर्ने जनरा भएकाले पनि यसैमा फिल्म बनाएको हुँ ।’

‘मास्टर्नी’ बन्नुको पछाडि भने निर्देशक सुभेन्दु घोषलाई उनी मुख्य कारण मान्छिन् । उनका अनुसार सुभेन्दुसँग भेट नभएको भए फिल्म तत्काल बन्ने थिएन । उनी भन्छिन्, ‘यो फिल्मको ‘आइडिया’ मसँग एक–दुई वर्षदेखि नै थियो । तर, फिल्म बनाउने टुंगो थिएन । त्यही बेला शुभेन्दुजी मेरो जीवनमा ‘क्याटलिस्ट’ बनेर आउनुभयो । उहाँसँग ट्युनिङ मिलेपछि फिल्म बनायौँ ।’

‘मास्टर्नी’को व्यापारमा सबैभन्दा ठूलो अवरोध भने सेन्सर बोर्डबाट प्राप्त ‘एडल्ट’ सर्टिफिकेट बन्न सक्ने अनुमान गरिएको छ । यो सर्टिफिकेटका कारण १६ वर्षभन्दामुनिका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध छ । तर, फिल्मले पाएको सर्टिफिकेटबाट प्रियंका भने खुसी छिन् । आफूले फिल्मका लागि चाहेको सर्टिफिकेट नै यही रहेको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘फिल्मले पाएको सर्टिफिकेटबाट खुसी छु । म आफैँले पनि त्यही चाहेको थिएँ । फिल्ममा धेरै हत्या र हिंसाका दृश्य छन् । त्यसका लागि ‘एडल्ट’ सर्टिफिकेट नै चाहिन्थ्यो । इच्छा त लाग्छ नि, बच्चाबच्चीलाई पनि लगेर देखाऊँ भन्ने । तर, सबै कुरा सबैका लागि हुँदैन । यो जुन जनरामा बनेको छ, त्यसमा प्रायः फिल्मले ‘एडल्ट’ सर्टिफिकेट नै पाउँछन् ।’

Most Visited News (monthly)