
अभिनेत्री नम्रता श्रेष्ठ नाकाबन्दीमा परेकी छिन् । उनीद्धारा अभिनित दुई फिल्म एउटै मितिमा रिलिज हुने भएपछि दुवै फिल्मले उनलाई नाकाबन्दीमा परेका हुन् । अर्थात् दुवै फिल्मले उनलाई प्रचार प्रसारको मुख्य हिस्साबाट कटौती गरेको खबर छ ।

श्रावण २३ देखि प्रदर्शन हुने श्रीकृष्ण श्रेष्ठको फिल्म 'कोहिनूर'ले 'पिजी' सर्टिफिकेट पाएको छ । फिल्मका केही दृश्य अभिभावक बिना बालबालिकाले हेर्न नमिल्ने भन्दै सेन्सर बोर्डले प्यारेन्टल गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको निर्देशक अधिकारीले जानकारी गराए ।

फिल्म ‘रेशम फिलिली’ लाई भारतमा फिल्म प्रदर्शन अधिकार बिक्री गरेर निर्माण कम्पनी भी मोसन पिक्चर्स प्रमुख तथा अभिनेता विनय श्रेष्ठ विहीबार देश फर्किएका छन् । विनयले भारतका सबैजसो नेपाली बहुल क्षेत्रमा वितरण र प्रदर्शन अधिकार सिक्किमको ह्वाइट हर्स कम्पनीलाई बेचेको बताए ।

बान्दे्र उपनामले चिनिने कलाकार सुरज चापागाइँले निर्माण एवं निर्देशन गरेको फिल्म ‘मेरो स्कूल’ लाई सार्वजनिक प्रदर्शन नगरिने भएको छ । च्यारेटी शो गरेर सामाजिक शिक्षा दिने भन्दै बान्द्रेले फिल्मको सार्वजनिक प्रदर्शन नगर्ने जनाएका हुन् ।

दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा ‘गैंडा’ ले संयुक्त रुपमा निर्माण गर्ने फिल्म ‘वडा नं ६’ को छायाँकन मिति सरेको छ । साउन २४ देखि भदौ १९ गतेसम्म भृकुटीमण्डपमा हुने ‘तीते जिरे मेरी बास्सै हाँस्य व्यंग्य गाईजात्रा’ कार्यक्रमले ‘वडा नं ६’ को छायाँकन तिहारपछि पुर्याएको हो ।

भदौ ६ गते नेपाली फिल्महरु बीच ठूलो भिडन्त हुँदैछ । भदौ ६ मा तीन फिल्महरु ‘ताण्डव’, ‘सम्बोधन’ र ‘ठूली’ एकसाथ प्रदर्शनमा आउँदैछन् । तीन मध्ये ‘ताण्डव’ र ‘सम्बोधन’ को प्रतिस्पर्धालाई चासोको नजरले हेरिएको छ ।

