'कोहिनुर'ले देशभरका १२ हलमा ५१ औं दिन मनाएको सफलता पार्टीमा अभिनेत्री स्वेता खड्का अस्वस्थ भएपछि उपस्थित हुन् सकिनन् । स्वेता अस्वस्थ भएपछि उनी अस्पतालमा रहेको जानकारी कार्यक्रममा दिइयो ।

कार्यक्रममा वितरक सुनिल मानन्धरले फिल्मका निर्देशक आकाश अधिकारीलाई सम्मानस्वरुप रू ५ लाख नगद हस्तान्तरण गरेका थिए । आफूले वितरण गरेका फिल्ममध्ये सबैभन्दा बढि व्यापार 'कोहिनुर'ले गरेको भन्दै निर्देशक अधिकारीलाई सम्मानपत्र र ५ लाख हस्तान्तरण गरेका हुन् । यसलाई फिल्म नगरीमा एउटा कुशल कामको शुरूवातको रुपमा हेरिएको छ ।


निर्देशक आकाश अधिकारीले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठसँग फिल्म बनाउनका लागि लामो छलफल भएको सम्झदै मिहिनेतका साथ फिल्म बनाएकाले सफलता पाएको बताए । उनले आफूलाई वितरक सुनिल मानन्धरले दिएको ५ लाखको सम्मान करिअरकै सबैभन्दा ठूलो सम्मान भएको बताउँदै खुसी व्यक्त गरे ।
कार्यक्रममा फिल्म सफल बनाउन सहयोग पुर्याउने पत्रकार, कलाकार तथा निर्माण यूनिटलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले फिल्म क्षेत्रका कलाकारहरुका लागि चाँडै नै परिचयपत्रको व्यवस्था गर्ने जानकारी दिए । उनले श्रीकृष्ण श्रेष्ठको निधन पश्चात आफू फिल्म नगरीमा घुलमिल भएको बताए ।

‘कोहिनूर’ को ऐतिहासिक सफलताको उत्सवमा स्व.श्रीकृष्णको स्मृति उचित स्थानमा निर्माण हुनुपर्ने र हुलाक टिकटमा श्रीकृष्णको तस्विर अंकित गरिनुपर्ने माग श्रीको परिवारले गरेको छ । बोन क्यान्सरका कारण श्रीकृष्णको भारतको गंगाराम अस्पतालमा गत साउन २४ गते निधन भएको थियो ।

