
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले एकपटक फेरि सहकार्य गर्ने भएकी छन् । गत बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम तय हुन बाँकी रहेको फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछिन् । ‘दान्भी’मा पनि उनको एक्सन भूमिका थियो ।

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडीमा प्रिमियर गरिएको छ । निर्देशक र निर्मातासहित फिल्मका मुख्य अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीको उपस्थितिमा गत बुधबार (बैशाख १७ गते) सिक्किमको गान्तोक र शनिबार सिलिगुडीमा प्रिमियर आयोजना गरिएको हो ।

अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको फिल्म ‘रंगी’ अब बेलायतको राजधानी लण्डनमा प्रदर्शन हुने भएको छ । आगामी मे ९ तारिख (बैशाख २६ गते)बाट लण्डनको २७ वटा हलमा फिल्म प्रदर्शन हुन लागेको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मलाई लण्डनमा वितरणको जिम्मा लिएका छन् ।

निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा कलाकारको ‘लाइनअप’ बलियो हुँदै गएको छ । आगामी दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्ममा पल शाह र रमेश उप्रेतीपछि अब अभिनेता आर्यन सिग्देल भित्रिएका छन् ।

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन शुक्रबार २५ औं दिनमा प्याकअप भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्माता पौडेलले बताए ।

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ ।
- ‘महाराजधिराज’मा पल नरहने, निर्माताले गरे सम्झौता अन्त्यको घोषणा
- निर्देशकको टुंगो नलाग्दै ‘जदौ’मा साम्राज्ञी अनुबन्ध
- ‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला
- पललक्षित निर्देशक सेनको टिप्पणी : ‘समर्पित भएर मेहनत गर्ने कलाकार चाहिन्छ’
- ‘पिताम्बर’ निर्देशकको नयाँ फिल्ममा तीन देशका कलाकार हुने