Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’को टिजरले दर्शाउँछ आमाको महत्त्व

फिल्मीखबर, काठमाडौं, 2026/09/21

Bipana Thapa, Paul Shah

 

दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक गरिएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको टिजरले आमाको महत्त्वलाई दर्शाएको छ । विपना थापा र पल शाहलाई आमा−छोराको रूपमा प्रस्तुत गर्दै आमा जीवित हुँदै माया गर्नुपर्छ भन्ने सन्देश टिजरले दिएको छ । 

टिजरमा कृष्ण पात्र (पल)को एउटा मर्मस्पर्शी संवाद छ, ‘डर लाग्छ एक दिन त यो धर्ती छाडेर मेरी आमा सधैंका लागि टाढा जानेछिन् । आज व्यस्तताको बहाना बनाएर हामीसँग दुई शब्द बोल्ने फुर्सद पनि छैन ।’ निर्देशकले यही संवादमार्फत फिल्मको मूल कथा प्रस्ट्याउन खोजेको देखिन्छ । टिजरमा पल शाह र मलिका महतबीचको प्रेमलाई पनि देखाइएको छ । 

आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपना, पल र मलिकासहित स्व. प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, मलिका महत, निकिता आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘मेरो डान्स युनिभर्स सिजन २’की विजेता रिश्ता गुरुङले यही फिल्मबाट डेब्यू गरेकी छन् ।

फिल्ममा चन्द्र पन्तको लेखन, नवराज उप्रेतीको डीओपी (छायांकन), साहिल खान र मिलन श्रेष्ठको सम्पादन, बाबुल गिरीको संगीत, राम/लक्ष्मण सन्चुरीको द्वन्द्व निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी तथा राजेन्द्र मोक्तानको रंग संयोजन छ । यो फिल्म गत वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेल हो । फिल्मको पहिलो भागले नेपालमा १३ करोडमाथिको व्यापार गरेको थियो ।