
‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा चर्चित कलाकारहरूको पल्टन नै खडा गरेका छन् । सौगात मल्ल हुँदै फिल्ममा दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जोडिइसकेका छन् । अब फिल्ममा अर्का अभिनेता सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् ।
सुशीलको प्रवेशसँगै फिल्ममा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । अब मंगलबार (भोलि)बाट विराटनगरमा फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ । ७० दिनको छायांकन तालिका राखिएको फिल्मको दसैंका लागि भने एक साता ‘ब्रेक’ गरिने निर्देशक चौधरीले बताए । उनका अनुसार फिल्मको सम्पूर्ण छायांकन कोशी प्रदेशका विभिन्न स्थानमा हुनेछ ।
चर्चित उपन्यास ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह-निर्मातामा विश्वास बस्नेत र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मलाई आगामी वर्षको दसैं छेकोमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
निर्देशक चौधरीका अनुसार ‘साम्राज्य’ अहिलेसम्मकै ठूलो स्केलको एक्सन ड्रामा हुनेछ । फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए । फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको उनको भनाइ छ । ‘अगस्त्य’बाट एक्सनमा राम्रो सम्भावना देखाएका उनले ‘साम्राज्य’लाई आफ्नो महत्वाकांक्षी प्रोजेक्ट मानेका छन् ।

