Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ करोड २४ लाखमै ‘पार्वती’को लगानी उठेको नीताको दाबी

फिल्मीखबर, काठमाडौं, 2026/09/22

parwati movie

 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधन र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउँदा त्यसको असर फिल्म क्षेत्रमा पनि पर्‍यो । प्रदर्शनको संघारमा रहेका एकपछि अर्को फिल्म सरे । तर, अभिनेत्री नीता ढुंगानाले आफ्नो निर्देशनमा बनेको फिल्म ‘पार्वती’को रिलिज रोकिनन् । उनले ठूलो जोखिम मोलेर भदौ १२ गते फिल्म रिलिज गरिन् । 

देश विषम परिस्थितिमा रहेको बेला फिल्म रिलिज गरेको भन्दै नीताको आलोचना समेत भएको थियो । कतिपयले भने यस्तो समयमा फिल्म नचल्ने आँकलन गरेका थिए । तर, नीताले ‘पार्वती’लाई व्यावसायिक सफलता दिलाएरै छाडेकी छन् । असोज ४ गतेसम्म फिल्मले घरेलु बक्स अफिसमा २ करोड २४ लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ । 

निकट स्रोतका अनुसार नीताले ‘पार्वती’ ८० लाख रुपैयाँको बजेटमा बनाएकी हुन् । यो लगानी उठाउन फिल्मले २ करोडमाथिको व्यापार गर्नुपर्ने हुन्थ्यो । आइतबारसम्म फिल्मले त्यो आँकडा पार गरिसकेको छ । यसअर्थ फिल्मबाट नीताले आफ्नो लगानी पूर्ण रूपमा सुरक्षित गरेकी छन् । अब हलबाट हुने कमाइ, ओभरसिज र डिजिटल राइट्स (युट्युब)को रकम उनको मुनाफा हुनेछ । 

नीता स्वयंले पनि फिल्मले घरेलु बजारबाटै लगानी सुरक्षित गरेको दाबी गरेकी छन् । उनले मंगलबार फेसबुकमा एक पोस्ट गर्दै भनेकी छन्, ‘थोरै लगानीमा बनेको ‘पार्वती’ले बक्स अफिसमा आफ्नो लगानी सुरक्षित गर्न सफल भइसकेको छ र अहिले केही नाफातर्फ पनि अगाडि बढिरहेको छ । यो सफलता हाम्रो लागि ठूलो खुसीको कुरा हो ।’

नीताले फिल्मको पहिलो दिनको कमाइ बाढीपीडितका लागि सहयोग समेत गरेकी छन् । फिल्मले २५ लाख ९३ हजार रुपैयाँको ओपनिङ गरेको थियो, जसबाट निर्मातालाई आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको छ । नीताले फिल्मको कुल कमाइको ५ प्रतिशत बाढीपीडितको आश्रयका लागि सहयोग गर्ने पनि घोषणा गरिसकेकी छन् ।