Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को टिजर : काजीको बिहेपछि मैयाँको आगमन

फिल्मीखबर, काठमाडौं, 2026/09/21

Dayahang Rai, Bipin Karki, Rishma Gurung, Bijay Baral, Buddhi Tamang

 

२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘कबड्डी ४’लाई ‘द फाइनल म्याच’ भन्दै काजी, मैयाँ र सोल्टिनीको कथा टुंग्याइएको थियो । तर, अब ‘कबड्डी’को खेल नयाँ कथासहित फेरि सुरु भएको छ । सोमबार ‘कबड्डी ५’को टिजर सार्वजनिक गर्दै कथावस्तुबारे जानकारी गराइएको छ । अघिल्ला श्रृंखलाझैँ यसपटक पनि फिल्मको कथा काजी पात्रमै केन्द्रित हुने टिजरबाट प्रस्ट हुन्छ ।

टिजरको सुरुवातमै काजी (दयाहाङ राई)को सिर्जना गुरुङसँग विवाह भइसकेको देखाइएको छ । अर्थात् यसपटक काजीको दौडधुप सोल्टिनीका लागि हुने छैन । तर, टिजरमा विपिन कार्की र रिश्मा गुरुङ (मैयाँ)को प्रवेशले कथामा नयाँ ट्वीस्टको संकेत गरेको छ । टिजरको मुख्य आकर्षण भने काजी, बिके र छन्त्यालबीचको केमेस्ट्री हो ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ, विपिन, रिश्मा र सिर्जनासहित विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । यो फिल्म दसैं विदाको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शन हुँदैछ ।