
‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टले ‘वेलकम अन बोर्ड’ पोस्टरमार्फत फिल्ममा सौगात अनुबन्धित भएको जानकारी गराएको हो । उनीसँग निर्माताले दुई साताअघि नै लिखित सम्झौता गरेका हुन् ।

विगत तीन सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘गौँथली’ले बलियो पकड बनाएको छ । तीन सातामा साढे १६ करोडको व्यापार गरिसकेको फिल्मप्रति दर्शकको आकर्षण अझै घटेको छैन । यस्तो अवस्थामा शुक्रबारबाट दुई नयाँ फिल्म ‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्म विषयवस्तुका हिसाबले नितान्त फरक छन् ।

यही शुक्रबार (२२ साउन)बाट प्रदर्शन हुन लागेको फिल्म ‘हली’को साइप्रसपछि बेलायतमा पनि प्रदर्शन अधिकार बिक्री भएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले बिहीबार फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । आगामी असोज ४ गते अर्थात् सेप्टेम्बर २० तारिखका दिन बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा फिल्म प्रदर्शन हुनेछ ।

यही साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’को वियोगान्त गीत ‘मलाई पीर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ । प्रेममा विछोडपछिको भावनालाई समेटिएको गीतमा थानेश्वर गौतमको स्वर रहेको छ भने भीम कुमार ओझाको शब्द तथा सन्तोष बिसीको संगीत छ । नारायण दंगालको संगीत संयोजन गरेका हुन् ।

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच झन्डै २ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । पेशाले शिक्षिका रहेकी आमाले आफ्नी छोरीलाई बचाउन गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

एक साताअघि सार्वजनिक फिल्म ‘आचार्य’को फर्स्टलुक टिजरले सकारात्मकभन्दा नकारात्मक चर्चा बढी बटुल्यो । विशेषगरी टिजरको भिएफएक्सलाई लिएर निकै आलोचना भइरहेको छ । अभिनेता निखिल उप्रेतीले आगो बलेको टायर हातले घुमाएको दृश्यमा देखिएको भिएफएक्सले धेरैको आँखा बिझाएको छ । यद्यपि, निखिलका प्रशंसकहरू टिजरबाट सन्तुष्ट देखिन्छन् ।

