Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’

फिल्मीखबर, काठमाडौं, 2026/04/03

Sagar Lamsal Kshetri

 

हास्य कलाकार सागर लम्साल (बले)लाई फिल्म ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । शुक्रबार विष्ट थरकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएपछि निर्माताले उनलाई फिल्मबाट निकालेका हुन् । निर्माता कम्पनी कालीरानी फिल्म्सले एक विज्ञप्ति जारी गर्दै अब अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गरिने जनाएको छ । 

सागरको ९० प्रतिशत दृश्य खिचिसकेको भए पनि अब उनी फिल्मको हिस्सेदार नहुने र उनी संलग्न दृश्यहरू फिल्ममा नराखिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनु पर्दा र छायांकन भइसकेका दृश्य पुनः खिच्नु पर्दा निश्चय पनि आर्थिक क्षति हुने नै छ । तर, पीडित युवतीको पीडाका अघि हाम्रो यो क्षतिले कुनै मान्यता राख्दैन ।’

‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागरसँगको सम्झौता रद्द गरिएको विज्ञप्तिमा जनाइएको छ । निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझ गर्न जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । 

वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्मको तीन सातादेखि झापामा छायांकन भइरहेको छ । अब सागरलाई हटाइएसँगै फिल्मको पुनः छायांकन गर्नुपर्ने भएको छ । उनको ठाउँमा अर्को कलाकार लिने प्रक्रियामा निर्माण टिम जुटिसकेको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । 

Most Visited News (monthly)