Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

फिल्मीखबर, काठमाडौं, 2026/04/03

biraj bhatta

 

अभिनेता विराज भट्टले केही वर्षयता नयाँ अभिनेत्रीहरूसँग सहकार्य गरिरहेका छन् । उनका अघिल्ला दुई फिल्म ‘साङ्लो’ र ‘१२ गाउँ’मा उनको जोडी नयाँ अभिनेत्रीसँग बाँधिएको थियो । आगामी फिल्म ‘राम नाम सत्य’मा पनि उनले एक नयाँ अभिनेत्रीसँग काम गरेका छन् । फिल्मको ‘हुम्लाको लिमी’ गीतमा उनले नव-अभिनेत्री खुसी कार्कीसँग नृत्य गरेको देख्न सकिन्छ ।

फिल्मको उक्त गीत सार्वजनिक भएपछि विराजले नातिनी उमेरकी युवतीसँग रोमान्स गरेको भन्दै टिका-टिप्पणी भइरहेको छ । बिहीबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई यही विषयमा प्रश्न गरिएको थियो । जसमा उनले राम्रो कलाकार फिल्ममा आउन बञ्चित नहोस् भनेर आफूले कम उमेरको हिरोइनसँग पनि काम गरिरहेको बताए । 

उनले भने, ‘मैले आफ्नो छोरा समीर भट्टसँग पनि दाइ-भाइको रोल गरेको छु । र, फेरि पनि गर्दैछु । अनि अर्को कुरा, फिल्ममा नयाँ हिरोइन ३०-३५ वर्षका त आउँदैनन् होला । आउने भर्खरका नै हुन् । अनि नयाँ कलाकारलाई हामीले ‘ऊ सानो छ, उमेर नै मिल्दैन’ भनेर हटाइदियौं भने एउटा राम्रो कलाकार आउनबाट बञ्चित हुन्छ । यसैले यो कुरामा हामी सकारात्मक नै हुनुपर्छ ।’ 

उनले नयाँ कलाकारसँग काम गर्न आफूलाई रमाइलो लाग्ने पनि बताए । भन्छन्, ‘नयाँ कलाकारसँग म कम्फर्टेबल (सहज) पनि हुन्छु । उनीहरूसँग आफ्नो ‘स्प्रिड’ मिलाउन पाउँदा रमाइलो लाग्छ । उनीहरूबाट पनि हामीले केही सिक्ने हो । हाम्रो अनुभव पनि उनीहरूलाई काम लाग्छ । यसैले नयाँ कलाकारलाई हामीले ‘इग्नोर’भन्दा पनि ‘सपोर्ट’ गर्नुपर्छ ।’

कार्यक्रममा विराजले कलाकारहरूलाई दिइने विभिन्न ट्यागबारे पनि धारणा राखेका थिए । उनले ट्यागलाई गम्भीर रूपमा नलिन सुझाव दिँदै भने, ‘म आफू चाहिँ ट्यागलाई गम्भीर रूपमा लिन्नँ । म के भन्छु भने सबैभन्दा पहिला राम्रो कलाकार बन्नुस् । राम्रो अभिनय गर्नुस् । कलाकार भएपछि अभिनय, एक्सन, नृत्य सबैमा राम्रो हुनुपर्छ । ट्याग भन्ने चिजलाई गम्भीर रूपमा लिनु हुँदैन ।’

Most Visited News (monthly)