
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट शनिबार सार्वजनिक लोकलयमा आधारित यस गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको छ भने शब्द तथा संगीत संयोजन रमेश परियारको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सुपरहिटको मान्यता दिएको छ । शुक्रबार दिउँसो यो चेनले आफ्नो वेबसाइटमार्फत फिल्मलाई उक्त ट्याग दिएको हो । यस वर्ष क्यूएफएक्सबाट सुपरहिट घोषित हुने यो तेस्रो नेपाली फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले यो ट्याग पाएका थिए ।

आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । प्रेमका भावना व्यक्त यस गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ भने एलिस कार्कीको कम्पोज, नीरकमल खड्का (मामल)को शब्द रचना तथा शैलेन्द्र एम प्रधानको एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग छ ।

यस वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी आर्टमान्डुबाट प्रेषित विवरणमा नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतमा फिल्म रिलिज हुने उल्लेख छ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मको नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने पनि तय भएको छ ।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ शुक्रबारबाट नेपाल र भारतका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । निर्माण पक्षका अनुसार फिल्मलाई भारतका सिलिगुडी, दार्जिलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ र डुवर्स क्षेत्रमा रिलिज गरिएको छ । यी क्षेत्रमा नेपाली भाषी दर्शकहरूको बसोबास उल्लेख्य रहेकाले फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुष ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको गीत रिलिजको ‘काउन्टडाउन’ पोस्टरमा उक्त मिति उल्लेख छ । पुष १० गते परेको क्रिसमस डेको विदालाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको देखिन्छ ।

