.jpg)
गायनबाट फिल्म अभिनयमा आएका धेरै अनुहारमध्ये एक हुन्, प्रकाश सपूत । गायन करिअरको उत्कर्षमा रहँदा उनले ‘परदेशी २’बाट फिल्ममा डेब्यू गरेका थिए । उनलाई पहिलो प्रयासमै सफलता मिल्यो । उनको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त कमाइमा इतिहास नै रच्यो । यसपछि उनले ‘वसन्त’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
अब उनी नयाँ फिल्म ‘परालको आगो’मा देखिँदैछन्, जुन यही वैशाख ११ गते प्रदर्शन हुँदैछ । यसमा उनले चामे पात्रको भूमिकामा अभिनय गरेका छन्, जो स्वभावले रिसाहा र सनकी छ । फिल्मको ट्रेलर हेर्दा पनि उनको चरित्रबारे बुझ्न सकिन्छ । फिल्ममा आफूभन्दा अलग स्वभावको चरित्रमा अभिनय गर्न निकै गाह्रो भएको उनको अनुभव छ ।
उनी भन्छन्, ‘मेरो स्वभावभन्दा एकदमै फरक चरित्र छ फिल्ममा । मेरो पात्रले कहिले श्रीमतीलाई माया गर्छ त कहिले भैँसीमाथि रिस पोख्छ । म सबैभन्दा बढी भैँसी कुट्नुपर्ने सिनमा डराएको थिएँ । फिल्ममा पनि आओस् र भैँसीलाई पनि केही नहुने गरी कसरी काम गर्ने भनेर मलाई छटपटी भएको थियो । त्यो रिसाउनुपर्ने सिनमा मलाई सुहाना थापाले सिकाउनु भयो ।’
सुहानासँग काम गर्दा रमाइलो अनुभव भएको उनको भनाइ छ । भन्छन्, ‘उमेरले उहाँभन्दा म अलिकति ठूलो भए पनि उहाँको बुझाइको स्तर, संसार, समाज र व्यक्तिलाई हेर्ने दृष्टिकोणको आयाम साँच्चिकै अद्भूत नै छ । उहाँ साँच्चिकै राम्रो मान्छे हुनुहुन्छ । उहाँ साइकोलोजीको डाक्टर पनि भएको हुनाले मलाई एक किसिमको थेरापीको काम पनि गर्नुभयो ।’
आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको यस फिल्ममा प्रकाशको जोडी सुहानासँग बाँधिएको छ । यसमा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन् । सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ लगायतको पनि फिल्ममा अभिनय छ ।

