
कालजयी फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंह दुई दशकपछि एकसाथ ठूलो पर्दामा देखिने भएका छन् । यही बुधबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘सारथी’मा उनीहरूको जोडी बाँधिन लागेको हो । सोमबार यो फिल्मको काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै कलाकार तथा प्राविधिकबारे जानकारी गराइयो ।
कुमार गजुरेलको निर्देशनमा बन्ने यस फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको निर्मातामा तारा थापा ‘किम्भे’ रहेका छन् । सम्पादकको रुपमा परिचित उनले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्मको लगानीकर्तामा सौर्यल थापा पनि रहेका छन् । रदिप श्रेष्ठ र प्रदिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अमीर केसी र कुमार गजुरेल हुन् । फिल्मको शीर्षक हेर्दा सम्बन्धको कथामा फिल्म आधारित रहने अनुमान गर्न सकिन्छ ।

