
बलिउड फिल्म ‘धुरन्धर: द रिभेन्ज’ले प्रदर्शनको पाँचौं हप्तासम्म आइपुग्दा थुप्रै कीर्तिमान ध्वस्त पारेको छ । सर्वाधिक ठूलो ओपनिङदेखि बलिउडको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्मसम्मको रेकर्ड यसले आफ्नो नाममा बनाएको छ । अब यो फिल्मले तोड्न बाँकी एउटा मात्र कीर्तिमान छ । त्यो हो, फिल्म ‘पुष्पा: द रुल्स’ले बनाएको व्यापारिक कीर्तिमान ।
सन् २०२४ मा प्रदर्शन भएको तेलुगु भाषाको उक्त फिल्मले भारतमा मात्र १४७१ करोड ग्रस र १२३१ करोड नेट कमाएको थियो । यो नै भारतमा सर्वाधिक कमाउने फिल्म हो । अब यसको रेकर्ड तोड्न लगभग एक सय करोडले ‘धुरन्धर २’ पछाडि छ । यो फिल्मले प्रदर्शनको ३२ दिन अर्थात् आइतबारसम्म कुल १११५.६७ करोड नेट कमाएको छ ।
फिल्मले प्रदर्शनको पाँचौं हप्तामा गरिरहेको कमाइको ट्रेन्ड हेर्दा ‘पुष्पा: द रुल्स’को रेकर्ड तोड्न लगभग असम्भव नै देखिन्छ । किनकि, चौथो हप्तादेखि भारतमा फिल्मको कमाइ २ देखि ५-७ करोडको बीचमा देखिएको छ । दैनिक फिल्मको अकुपेन्सीमा भारी गिरावट आइरहेका कारण अब फिल्मले बढीमा ५०-६० करोड कमाउन सक्ने अनुमान गरिएको छ ।
‘धुरन्धर २’लाई ‘पुष्पा २’को रेकर्ड तोड्न असम्भवजस्तै भए पनि यसले केही दिनअघि मात्र निर्देशक एसएस राजामौलीको ‘बाहुबली २: द कन्क्लुजन’ (१०३०.४२ करोड) र प्रशान्त नीलद्वारा निर्देशित ‘केजीएफ : च्याप्टर २’ (८५९.७० करोड)को भारतभित्रको लाइफटाइम कमाइलाई पार गरेको थियो । यससँगै यो भारतकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको छ ।

