
निर्देशक अशोक शर्माले गत फागुनमा आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’को निर्माण घोषणा गर्दै यस वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेका थिए । तर, फूलपातीमा अरू तीन फिल्म पनि आउने भएपछि उनले उक्त मिति छाड्दै फागुन १ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरे । अब यो मितिबाट पनि फिल्म पछि हट्ने भएको छ । किनकि, फिल्मको छायांकन धकेलिएको छ ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय करिअर सुरु गरेका अभिनेता फिरोज तिमल्सेना अब निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘कहाँ गयौ तिमी’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

‘पाँडे’को रुपमा दर्शकमाझ चिनिएका कलाकार अर्जुन घिमिरेको पहिलो निर्देशकीय फिल्म ‘झरी पछिको इन्द्रेणी’को छायांकन पूरा नहुँदै विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । यतिबेला काठमाडौं आसपासमा छायांकन भइरहेको फिल्मको शुक्रबार निर्माण पक्षले अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री गरेको छ । राम कार्कीले फिल्मको राइट्स खरिद गरेका हुन् ।

यसपालिको दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले दर्शकमा क्रोध, आक्रोश, बदला र देशभक्ति भावना प्रज्वलित गराउँछ । अन्यायविरुद्ध लड्ने एक पात्र (समीर भट्ट)को वरिपरि टिजर केन्द्रित छ ।

कुमार केसीको निर्देशनमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’को प्रदर्शन मिति तय नहुँदै पहिलो गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द रचना, विकास चौधरीको संगीत तथा सञ्जय हमालको एरेन्ज छ ।

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ ।

