.jpg)
अभिनेता द्वय पल शाह र आकाश श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा २’को शुभ मुहूर्त गरिएको छ । सोमबार ललितपुरस्थित पाटन बंगलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै औपचारिक रूपमा फिल्मको निर्माण प्रक्रिया सुरु गरिएको हो । मुहूर्त समारोहमा फिल्मका निर्देशकदेखि कलाकारसम्मको उपस्थिति रहेको थियो ।
यो फिल्म गत वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । यसैले फिल्ममा अघिल्लो भागका केही कलाकारहरूलाई नै दोहोर्याइएको छ, जसमा पलसहित विपना थापा, प्रदीप रावत (गजनी भिलेन) र गजित विष्ट रहेका छन् । आकाश भने यो फ्रेन्चाइजमा नयाँ हुन् । फिल्ममा अभिनेता नरेन खड्काको पनि मुख्य भूमिका रहनेछ ।
चन्द्र पन्तको निर्देशनमा बन्ने यस फिल्ममा अभिनेत्रीहरू भने तय भएका छैनन् । अघिल्लो भागमा मुख्य अभिनेत्रीको रूपमा सिम्रन पन्त र उषा उप्रेतीले अभिनय गरेका थिए । सिक्वेलमा भने उनीहरूमध्ये एकजना मात्र दोहोरिन सक्ने बताइएको छ । निर्देशक पन्तका अनुसार यतिबेला अभिनेत्रीहरू छनोटको काम भइरहेको छ ।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंको हो । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजरमा करण सिंह रहेका छन् । निर्माताले फूलपातिको अघिल्लो दिन अर्थात् असोज ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

