
प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को फरक शैलीमा ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका निर्माताले शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सांगीतिक कन्सर्ट आयोजना गर्दै करिब ५ हजार दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक गरेका हुन् । सम्भवतः कन्सर्टमार्फत ट्रेलर सार्वजनिक गर्ने यो पहिलो फिल्म हो ।

अभिनेता अनुप विक्रम शाहीले फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यु गर्न लागेको खबर बाहिरिएपछि उनको भूमिकाबारे धेरैमा चासो बढेको थियो । कतिपयले अभिनेता सलमान खानको पछाडि देखिने भूमिकामा हुनसक्ने भन्दै खिसिटिउरी समेत गरेका थिए । तर, शनिबार सार्वजनिक फिल्मको ‘मातृभूमि’ गीतले उनी प्रभावशाली भूमिकामा रहेको स्पष्ट पारेको छ ।


अभिनेता अर्पण थापा करिब ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘अ फ्रेन्च किस’को शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । पछिल्लो पटक सन् २०१९ मा हरर फिल्म ‘घर’ निर्देशन गरेका अर्पणले त्यसअघि ‘सुनकेशरी र ‘मुखौटा’ बनाएका थिए ।

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कल्ली’मा अभिनेत्री पूजा शर्माले आइटम डान्स गरेकी छन् । उनले फिल्ममा आइटम डान्स गरेको पहिलो पटक हो । दुई दिन काठमाडौँको चोभारमा छायांकन गरिएको ‘क्या राम्री’ बोलको गीतमा आशिष अविरलको संगीत र मेलिना राईको स्वर रहेको छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो’को पहिलो गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक यस गीतमा निर्देशक सुदीप भुपाल सिंहको शब्द, रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर रहेको छ । गीतमा घरको मायादेखि रोजगारीका लागि विदेशिनुपर्ने नेपालीको बाध्यतालाई समेटिएको छ ।

