Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राम नाम सत्य’को व्यापारलाई पछ्याउँदै ‘परालको आगो’, कमायो ३ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2026/05/04

box office

 

गत वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको तथ्यांकमा फिल्मको ९ दिनको कमाइ ३ करोडमाथि देखिएको छ । फिल्मले गत शनिबारसम्म ३ करोड १२ लाख १७ हजार रुपैयाँ ग्रस कमाएको हो । 

‘परालको आगो’ले यतिबेला गत चैत २७ गते प्रदर्शन भएको फिल्म ‘राम नाम सत्य’को व्यापारलाई पछ्याइरहेको छ । गत शनिबार (१९ वैशाख)सम्म यी दुई फिल्मको कमाइमा २७ लाख ५६ हजार ३७४ रुपैयाँको मात्र अन्तर देखिएको छ । ‘राम नाम सत्य’ले ३ करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । 

‘राम नाम सत्य’ र ‘परालको आगो’ले ३ करोडमाथिको व्यापार गर्दा वैशाख १ गतेबाट प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले भने ७० लाख पनि कमाउन सकेको छैन । गत शनिबारसम्म यो फिल्मले घरेलु बक्स अफिसमा ६३ लाख ९३ हजार १५२ रुपैयाँ ग्रस कमाएको छ । गएको ७ दिनमा फिल्मको कमाइ २ लाख १५ हजार रुपैयाँ मात्र बढेको देखिन्छ । 

टिकट बिक्रीको कुरा गर्दा गत शनिबारसम्म ‘राम नाम सत्य’को १ लाख २० हजार ९२६ वटा टिकट बिक्री भएका छन् भने ‘परालको आगो’को टिकट बिक्री संख्या १ लाख १० हजार ४४२ छ । ‘पहाड’को भने २० हजार २६५ वटा टिकट बिक्री भएको देखिन्छ । यसरी हेर्दा गएको २३ दिनमा २ लाख ५१ हजार ६३३ जनाले हलमा तीन नेपाली फिल्म हेरेका छन् ।