
संगीत क्षेत्रमा उँचो कद बनाएका गायक रामकृष्ण ढकाल फिल्मका अभिनेता समेत हुन् । साढे २ दशकअघि प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’मा उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । यो फिल्म व्यावसायिक रूपमा सफल भएपछि उनलाई गायनभन्दा बढी अभिनयको प्रस्ताव आएको थियो । तर, उनले आजका दिनसम्म अरु फिल्म खेलेका छैनन् ।
रामकृष्णले अब फिल्म खेल्छन् कि खेल्दैनन् भन्ने चासो दर्शकमा भइरहँदा उनी भने निर्माताको रूपमा अगाडि आएका छन् । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ यही शुक्रबार (२५ वैशाख)बाट प्रदर्शनमा आउँदैछ । यस फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको छ भने गीतहरूमा रामकृष्ण स्वयंले स्वर दिएका छन् ।
तर, फिल्ममा अभिनय नगरेका कारण अहिले उनलाई पत्रकारहरूले सोध्ने एउटा प्रमुख प्रश्न नै यही बनेको छ । यसबारे उनको धारणा भने प्रस्ट छ, ‘आफैँ लगानी गरेर हिरो वा गायक बन्ने प्रचलन बसाल्नु हुँदैन ।’ यस्तो प्रवृत्तिले फिल्म निर्माण र गायनको स्तरमा गिरावट ल्याउने उनको बुझाइ छ । यही कारण उनले ‘मालती मंगले’मा अभिनय नगरेका हुन् ।
उनी भन्छन्, ‘आफैँ लगानी गरेर हिरो वा गायक बन्ने प्रचलन बसाल्ने हो भने यसले फिल्म र गायनको स्तरमै गिरावट ल्याउँछ । म यो क्षेत्रमा ३५ वर्षदेखि छु । एउटा फिल्म पनि खेलेँ । त्यसले गर्दा केही अनुभव बटुलेको छु । त्यो अनुभव हुन्थेन भने म ‘मालती मंगले’मा हिरो हुन्थेँ होला । तर, यो रोलका लागि विजय बराल नै ठीक हुनुहुन्छ भन्ने बुझ्न पाएकै कारण मैले अभिनय नगरेको हुँ ।’
कुनै पनि क्षेत्रलाई राम्रो बनाउनका लागि त्यसको अध्ययन र अनुभव आवश्यक हुने उनको बुझाइ छ । त्यसैले जुन क्षेत्रमा जसको जे अनुभव छ, त्यही काम गर्नुपर्छ भन्ने उनको धारणा छ । तर, नेपालमा धेरैले फिल्म निर्माण र गीत–संगीतलाई रहरको खेतीका रूपमा लिने गरेका कारण त्यसले दुवै क्षेत्रलाई असर गरिरहेको उनको विश्लेषण छ ।
‘मालती मंगले’मा आफू निर्माताको रूपमा जोडिनुको कारण भने उनी यसको कथालाई मान्छन् । उनी भन्छन्, ‘म अलि पहिला ‘आशीर्वाद’ फिल्ममा अभिनेताको रूपमा आएको थिएँ । अहिले प्रस्तुतकर्ताको रूपमा ‘मालती मंगले’मा जोडिएको छु । फिल्मको कथा नै म जोडिनुको कारण हो । यसमा एकदमै मिठो प्रेमकथा छ । यो सम्पूर्ण परिवार सँगै बसेर हेर्न मिल्ने फिल्म हो ।’

