
अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘कुस्ती’ इन्द्रजात्राको अवसर पारेर असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । पोस्टरमा धीरज र मिरुनासहित नव-अभिनेत्री दीकिला शेर्पा देखिएका छन् ।
अनिल योञ्जनको निर्माण तथा निर्देशन रहेको यस फिल्ममा पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, रवीन्द्र झा, भोलाराज सापकोटा, सूर्यमान लिम्बू, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । अनिल यही फिल्मबाट ९ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले यसअघि सन् २०१७ मा फिल्म ‘डायरी’ बनाएका थिए ।
यस फिल्ममा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, रेनिश फागोको रंग संयोजन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व संगीत तथा शिशिर खातीको नृत्य निर्देशन रहेको छ । रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने फिल्ममा ड्रेस डिजाइन आईआईएफटीले गरेको हो ।
निर्देशक योञ्जनले फिल्मले प्रेम सम्बन्धमा रहेका एक जोडीको रोचक कथा प्रस्तुत गर्ने जानकारी दिए । फिल्मबारे उनले भने, ‘उनीहरूले एकअर्कालाई माया त गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा न सँगै रहन सक्छन् न त छुट्टिएरै बस्न । भावनात्मकतासँगै हास्यरसले भरिएको फिल्म हो यो ।’ यस फिल्मको लेखन उनी स्वयंले गरेका हुन् ।

