
कलाकार तथा रंगकर्मी माओत्से गुरुङले अभिनयमा गहिरो छाप छाडेका छन् । ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले ‘दयारानी’बाट मूलधारको फिल्म निर्देशनमा समेत डेब्यू गरे । उनलाई पहिलो फिल्मबाटै व्यावसायिक सफलता मिल्यो । अब उनी निर्देशित दोस्रो फिल्म ‘पेन्सन पट्टा’ तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
उनका अनुसार ‘पेन्सन पट्टा’को कथा ब्रिटिस आर्मीको परिवारसँग सम्बन्धित छ । तर, उनी फिल्मको मुख्य विशेषता भने अव्यक्त प्रेमलाई मान्छन् । भन्छन्, ‘मनमा भएर पनि व्यक्त गर्न नसकिएको प्रेम कस्तो हुन्छ भन्ने कुरा यसले देखाउँछ । अहिले प्रेमको परिभाषा पनि बदलिँदै गएको छ । यस्तो समयमा यो खालको प्रेमकथाले दर्शकलाई फरक अनुभूति दिन्छ भन्ने विश्वास छ ।’
फिल्म हेरेपछि दर्शकले जीवनमा सम्पत्ति वा प्रसिद्धि मात्रै सबैथोक होइन भन्ने सन्देश लिएर फर्किने उनको विश्वास छ । ‘सबैभन्दा ठूलो कुरा आत्माको सन्तुष्टि हो । कसैका लागि केही त्याग गर्नु, दान गर्नु वा अरूको हितका लागि सोच्नु पनि जीवनको ठूलो प्राप्ति रहेछ भन्ने अनुभूति लिएर दर्शक बाहिर निस्कून् भन्ने अपेक्षा छ,’ उनले भने ।
आफू पूर्वब्रिटिस आर्मी परिवारको सन्तान भएकाले त्यही विषयमा फिल्म बनाउन गाह्रो नभएको उनको अनुभव छ । उनले भने, ‘मैले लाहुरे समाज र परिवेशलाई नजिकबाट बुझेको छु । त्यसैले आफ्नै समाज र परिवेशको कथा भएकाले धेरै कुरा परिचित थिए । मैले अत्यन्त जटिल विषय समेटेको पनि छैन । त्यसैले फिल्म बनाउँदा त्यस्तो चुनौती महसुस भएन ।’
पछिल्लो समय भावुक फिल्महरू बढी चलिरहेको समयमा आफूले त्यसको सट्टा फरक कन्टेन्ट रोजेको उनको भनाइ छ । उनी भन्छन्, ‘यसअघि ‘लुट’ र ‘कबड्डी’पछि त्यस्तै शैलीका फिल्म आए । अहिले पारिवारिक ड्रामा र भावुक बनाउने फिल्महरूको समय छ । म भने ‘कन्टेन्ट’माथि केन्द्रित भएर काम गर्न रुचाउँछु । मेरो ‘कन्टेन्ट’ दर्शकलाई मन पर्छ कि पर्दैन, त्यो भोलिको कुरा हो ।’
निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्व. सुनिल थापा, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ, लुनिभा तुलाधरलगायतका कलाकारहरूले अभिनय गरेका छन् । फिल्मका निर्माताहरू मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् ।

