
अभिनेत्रीबाट निर्मात्री बन्न लागेकी पूजना स्त्रीले आफ्नो फिल्म `चक्लेट` सडक बालबालिकाको विषयवस्तु माथि बन्ने बताएकी छिन् । यस फिल्ममा पूजनाको लगानी सहित कथा, पटकथा एवं संवाद समेत हुनेछ ।

अष्ट्रेलियामा बनेको फिल्म 'ॠतु'ले सिड्नीबाट ३३ लाख रुपैयाँ ग्रस कमाउन सफल भएको छ । सिड्नी सिटीको सिभिक थिएटरमा तीन दिन गरिएको फिल्म प्रदर्शनीबाट उक्त रकम उठेको निर्देशक मनोज अधिकारीले जानकारी दिए ।

१८ बर्ष अगाडी छबिराज ओझाको निर्माणमा मोहन निरौलाले निर्देशन गरेको फिल्म 'जन्मभूमि' नाममा पुन: फिल्म निर्माण गरिने भएको छ । पहिलो फिल्ममा राष्ट्रप्रेमको कथा उठाईेको थियो । यसपाली निर्देशक निरौलाले आफ्नै लेखनमा नारी बिद्रोहको कथा उठाएका छन् ।

चलचित्र विकास बोर्डको आयोजना तथा रङ्ग दर्पण, जनकपुरधामको स्थानीय व्यवस्थापनमा आयोजित 'चलचित्र मार्फत मैथिली लोक संस्कृतिको खोजी' अवधारणामा फागुन १६ गतेदेखि २२ गतेसम्म जनकपुरको हारसरस्थित जीवन केन्द्रमा आयोजित ७ दिने मैथली चलचित्र निर्माण अभिमुखिकरण कार्यशालाको प्रशिक्षार्थीहरुबाट निर्मित ५ वटा मैथिली लघु फिल्महरुको प्रदर्शन सहित समापन कार्यक्रम सम्पन्न भएको छ ।

आज अन्तर्राष्ट्रिय नारी दिवस । घरेलु हिँसा वा लैंगिक विभेद अथवा धर्म, संस्कृति र संस्कारले गरेको विभेद बिरूद्ध र आफ्नो अधिकार प्राप्तिको लागी सँघर्षरत नारीहरुले आज नारी दिवस मनाउँदै छन् । यहि नारी दिवसको अवसर पारेर नारीमाथी हुने हिंसा, दबाब, शोषणको बिरूद्ध आवाज उठाउन निर्माण गर्न लागिएको फिल्म 'तथास्तु'को घोषणा गरिएको छ ।

गत बर्ष रिलिज भएको पपुलर फिल्म 'नोटबुक'का निर्देशक योगेश घिमिरेले आफ्नै नामका फिल्म निर्माण कम्पनी दर्ता गर्दै आगामी प्रोजेक्टको बारेमा औपचारिक रूपमा मुख खोलेका छन् । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक घिमिरेले अरूश इन्टरनेश्नलको व्यानरमा 'भुलभुलैया' फिल्म निर्देशन गर्न लागेको बताए ।

