ऋषि लामिछानेको नेतृत्वमा ९ निर्देशकहरुले निर्देशक समाजको कार्यसमितिबाट राजिनामा दिएपछि फिल्म क्षेत्रमा हलचल नै मच्चियो । राजिनामा दिएका दुई निर्देशकलाई फिर्ता बोलाउन सफल भएका अध्यक्ष दिनेश डिसीले अन्य सदस्यको राजिनामा स्विकृत गर्दै नयाँ कार्यसमिती बनाएपछि पुन: हलचल मच्चिएको छ ।
बुधवार बसेको कार्यसमितिको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा सुमन दाहाल र महासचिवमा निलहरी काफ्लेलाई नियुक्त गर्दै कार्यसमितीलाई पुर्नगठन गरेको छ । सुमन दाहाल यसअघि कोषाध्यक्ष पदमा थिए । अध्यक्ष डिसीले आफू निकट भएकाले दाहाललाई उपाध्यक्ष पदमा तानेका हुन् ।
निर्देशक समाजको विधान-२०५७ को प्रावधान अनुसार रिक्त सचिव पदमा डा. घनश्याम खतिवडा, कोषाध्यक्षमा योगेश घिमिरे र सह-कोषाध्यक्षमा शेखर खनाल आएका छन् भने सदस्यहरुमा सम्झना उप्रेती रौनियार र अमोल शर्मालाई ल्याईएको छ । राजिनामा फिर्ता गरेका दुई सदस्य आरबिके खत्री (शरद) र महेश प्रसाद ढुंगेल यथावत छन् । बाँकी दुई सदस्यको मनोनयन केही समय पछि गरिने जनाईएको छ ।
अध्यक्ष डिसीले आफ्नै मनोमानीमा संस्था अगाडी बढाएको, पोखरामा सम्पन्न फिल्म वर्कशप पूरा गर्न सामान्य प्रक्रिया नपुर्याएको, कार्यसमितीले गरेका र प्राथमिकतामा रहेका निर्णयहरूलाई लत्याउँदै कार्यसमितीको म्याण्डेड विपरित व्यक्तिगत रूपमा अगाडी बढ्ने कार्य अध्यक्षबाट भएको लगायतका कुरा औल्याउँदै महासचिव ऋषी लामिछाने, प्रथम उपाध्यक्ष राजु केसी, सचिव श्याम भट्टराई, सह-कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु आरवीके शरद, महेश प्रसाद ढुङ्गेलले राजिनामा दिएका थिए ।

