हेटौंडामा रहेको पुरानो फिल्म हल ओम चलचित्र मन्दिरलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याईएपछि हलले मुहार फेरेको छ । दर्शकहरुलाई हलसम्म आउने पारिवारिक वातावरण बनाइने सोचका साथ सेवा सुबिधा थप गरी स्तरिय ढंगबाट दर्शकहरुलाई फिल्म हेर्न सजिलो होस् भनेर हललाई मर्मत सम्भार गरेको संचालक नरेन्द्र महर्जनले बताए ।

हल मर्मत पश्चात दर्शकहरु प्रतिकृया राम्रो पाएको र सहभागिता उलेख्य हुन थालेको महर्जनको भनाई छ । बि.सं. २०४४ सालमा स्थापना भएको यो हलमा बाल्कोनी र स्पेशल गरी सात सयको संख्यामा दर्शकहरु अटाउने क्षमता छ । पुरानो कुर्सी, एउटै लोकेशनबाट फिल्म हेरिरहेका दर्शकहरुलाई नयाँ स्वाद दिन हलमा कार्पेट बिछ्छाएको छ भने सिट मर्मत गराई चारवटा एसी जडानका साथै लाईट सिस्टमलाई अझ परिष्कृत गरिएको छ ।
ओम्याक्स संचालनमा आएपछि ओम चलचित्र मन्दिरमा स्तरिय दर्शकहरुको आगमन पातलो भएकाले करिब पच्चिस लाख रुपैयाँ खर्च गरी हललाई सबै बर्गको दर्शकहरु आउने वातावरणका साथ मर्मतसम्भार गरिएको महर्जनले बताए । नयाँ बर्षदेखि हल मर्मत सम्भार गरेर संचालनमा ल्याईएपछि फिल्म हेर्न आउनेहरुको आगमन बढेको बताईएको छ ।
'पहिला पहिला फिल्म हेर्न दर्शकहरु आएनन् भनेर कुर्नु पर्थ्यो आजभोली त दर्शकहरुको भिड बढेको देख्दा हामीलाई पनि काम गर्ने जाँगर आएको छ', कर्मचारी गोपाल कर्मचार्यले बताए । फिल्म हल मर्मत सम्भार पश्चात प्रदर्शन गरिएको फिल्म 'नाईं नभन्नु ल २'को व्यवसायिक अवस्था अग्रस्थानमा रहेको र त्यसपश्चात 'कबड्डी'को विजनेश राम्रो रहेको हलका एकाउण्टेन्ट केदार बैध्यले बताए ।
फिल्म हेर्न बाल्कोनीको एक सय रुपैयाँ र स्पेशलको सत्तरी रुपैयाँ टिकटदर कायम गरिएको छ । योसँगै सुबिधा सम्पन्न रहेको ओम्याक्स हल पनि गत बर्षदेखि संचालनमा आईरहेको छ ।

