गत शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म 'नोभेम्बर रेन' धरानमा भने सोही मितिमा प्रदर्शन हुन सकेको थिएन । धरानमै करिब ६० प्रतिशत छायांकन गरिएको फिल्म धराने दर्शकको लागि प्रतिक्षित बनेको थियो ।

देशभरका हलमा फिल्मको ओपनिङ व्यापार राम्रो हुँदा दर्शक झन् फिल्म हेर्न आतुर देखिन्थे । फलस्वरुप 'नोभेम्बर रेन' सोमबारबाट धरानको गणेश टाकिज मार्फत प्रदर्शनमा आयो । प्रतिक्षाको फल मिठो हुन्छ भने झैं धरानमा दर्शक ओईरिएपछि निर्माताको मुहारमा खुसी छाएको छ ।
प्राय सबै शो हाउसफुल नै रह्यो । रात्री शोमा समेत दर्शकको चाप थियो । २ दिनमा फिल्मले धरानमा १ लाख माथिको कलेक्सन गरेको छ । दर्शकको यो फ्लो एक साता सम्म नघट्ने र बलियो वर्ड अफ माउथको कारण दोस्रो सातामा समेत फिल्मले राम्रो व्यापार गर्ने विश्वास हल संचालकको छ । 'नाई नभन्नु ल ' गरेको ऐतिहासिक व्यापार पछि 'नोभेम्बर रेन'ले समेत छनक देखाएको गणेश टाकिजका म्यानेजर भोलामान श्रेष्ठले बताए ।
छायांकन ताका नै धरानमा चर्चामा रहेको फिल्ममा आफ्नो ठाउँको दृश्य देख्दा दर्शक खुसी भएर ताली बजाउँदा हल गुञ्जायमान भएको थियो भने फिल्म हेरिसके पछि दर्शकको आँखा रसाएको प्रस्ट झल्किन्थ्यो । फिल्मले मोफसलमा सबैभन्दा बढी कमाई धरानमै गर्ने अपेक्षा समेत गरिएको छ । फिल्म धरान बाहेक दमक,बिराटनगर, झुम्का लगायतका स्टेसनमा समेत प्रदर्शन भैरहेको छ ।

