
आउँदो जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को प्रचार-प्रचारमा व्यस्त अभिनेत्री वर्षा सिवाकोटीले लगनखेलमा सञ्चालनमा आएको 'मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर' को नयाँ शाखाको उद्घाटन गरेकी छन् । एक दशकदेखि सौन्दर्य व्यवसायमा आबद्ध गीता गिरिले यस ब्युटी पार्लर सञ्चालनमा ल्याएकी हुन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म 'जीरो' बक्सअफिसमा पत्तासाफ भएपछि अभिनेता शाहरुख खानले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । अब उनी केही समय ब्रेक लिने सोचमा छन् । यसबीच, उनको नयाँ फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक हुनसक्ने चर्चा छ । उनको अपोजिटमा फेरि एकपटक कटरीना कैफ देखिन सक्नेछिन् ।

अभिनेत्री द्वय नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘साइनो’ को रिलिज डेट हेरफेर भएको छ । आउँदो जेठ १० गतेबाट प्रदर्शनमा आउने कन्फर्म भएको यो फिल्म प्राविधिक कारणले साउन २४ मा पुगेको छ । डबिङ, कलरिङ र मिक्सिङ नसकिने भएकाले फिल्मको रिलिज सार्नु परेको निर्माण टिमले जनाएको छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म 'इन्टु मिन्टु लण्डनमा' बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगर नेपाली फिल्म क्षेत्रले निकै आश गरेका अनुहार हुन् । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । केही वर्षयता नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाइरहेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काका लागि उनी 'थ्रेट' हुनसक्ने विश्लेषण कतिपयको छ ।

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । आउँदो जेठ २४ गते प्रदर्शनमा आउने निश्चित भएको यो फिल्म अब असार १३ गतेबाट मुलुकभर लाग्ने भएको छ । सार्वजनिक ‘अमला’ गीतमा मेलिना राई र एसडी योगीको स्वर छ ।

'बाहुबली' एक्टर प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’ को तयारीमा छन् । यो फिल्ममा उनले बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेका छन् । तेलगु र तमिलका अलावा हिन्दी भाषामा पनि फिल्म रिलिज हुँदैछ, जसका लागि प्रभास हिन्दी सिकिरहेका छन् ।

