युवापुस्ताले निकै रुचाउने लभस्टोरी जनरामा मनछुने फिल्म पस्कन निर्देशक सुदर्शन थापा माहिर छन् । उनलाई दर्शकको नाडी छामेर फिल्म बनाउने निर्देशक पनि भन्ने गरिन्छ । 'मेरो एउटा साथी छ', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु', 'रामकहानी' लगायतका सफल फिल्म दिइसकेका उनी वर्षमा एक वा दुईभन्दा बढी फिल्म गर्दैनन् । उनको हरेक फिल्मको दर्शकलाई निकै प्रतिक्षा रहने गर्दछ ।
यस वर्ष उनका दुई फिल्म प्रदर्शनमा आउनेछन् । सम्भवतः भदौमा केही प्रतिशत छायांकन अझै बाँकी रहेको अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म 'सम्हालिन्छ कहिले मन' प्रदर्शनमा आउनेछ । भने, उनले गएको २ वर्ष अगाडि घोषणा गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा आउने निश्चित भइसकेको छ । फिल्मको छायांकन भने दशैंपछि सुरु हुनेछ ।

अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु’ ले हिटको व्यापार गरेपछि निर्देशक थापाले आफ्नो जन्मदिनमा जोशमा सिक्वेल घोषणा गरेका थिए, जसमा पूजा र पलसँगै अभिनेता सलोन बस्नेतको अभिनय रहने जानकारी गराइएको थियो । तर, लामो समय यो फिल्म बन्न सकेन । यसको कारण पलसँग उनको सम्बन्ध विग्रनुलाई मानिएको छ ।
अब भने निर्देशक थापा 'सम्हालिन्छ कहिले मन' रिलिजपछि यो फिल्म सुरु गर्ने तयारीमा छन् । सम्बन्ध चिसिएका कारण सुदर्शन यस फिल्ममा पललाई पूजाको जोडी बनाउने मनस्थितिमा छैनन् । उनी नयाँ हिरो भित्राउने सोचमा छन् । फिल्मीखबरसँग फोनवार्तामा उनले भने- 'पल र पूजा दुबै फिल्ममा हुने वा नहुने अहिले कुनै टुंगो लागेको छैन । नयाँ जोडी लिने वा पल र पूजा नै दोहोर्याउने भन्नेमा निर्णय लिन सकेको छैन ।'
फिल्मवृतमा उनले अभिनेता अनमोल केसीलाई ‘म यस्तो गीत गाउँछु २’ अफर गरेको चर्चा छ । उनले फिल्म 'क्याप्टेन' को सेटमा नै गएर अनमोललाई फिल्मको स्क्रिप्ट सुनाएको जानकारी प्राप्त छ । उनी यो कुरा नकार्दैनन् । तर, यो फिल्म अफर गर्न अनमोलसँँग भेट नभएको उनको भनाई छ । सुदर्शन भन्छन्, 'भुवन (केसी) दाईले होम प्रोडक्सनको फिल्मको विषयमा कुरा गर्न बोलाउनुभएको थियो । म फिल्मको अफर लिएर भने गएको थिइनँ ।'
अभिनेता अनमोल पनि निर्देशक सुदर्शनसँग काम गर्न इच्छुक छन् । उनले आफूलाई मनपर्ने निर्देशकको एक लिस्ट बनाएका छन्, जसमा सुदर्शनको नाम अग्रणी स्थानमा आउँछ । अभिनेता प्रदीप खड्कालाई ‘स्टार’ बनाएको फिल्म 'प्रेमगीत' सबैभन्दा अगाडि सुदर्शनले अनमोललाई अफर गरेका थिए । तर, उनले विभिन्न कारणले गर्न सकेका थिएनन् । दर्शकलाई पनि सुदर्शन र अनमोलको टिमअपको व्यग्र प्रतिक्षा छ ।

