Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घर’ ले दर्शक तर्साउला ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/04
नेपालमा हरर जनराका फिल्म निकै कम बन्छन् । वर्षौदेखि कमेडी र लभस्टोरी फिल्मकै दबदबा छ । नेपालमा हरर फिल्मले राम्रो व्यापार गरेको इतिहास नभएका कारण पनि फिल्ममेकर यो जनरामा जोखिम मोल्न चाहँदैनन् । यद्यपि, नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या भने ठूलो छ । वर्षमा मुश्किलले एक वा दुईवटा हरर फिल्म रिलिज हुन्छन् । तर, आजसम्म कुनैले दर्शक रिझाउन सकेका छैनन् । 
 
नेपाली हरर फिल्मले दर्शकलाई 'तर्साउने कम हँसाउने बढी' गरेका छन् । यसको तात्तातो उदाहरणको रुपमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सुनकेसरी’ लाई लिन सकिन्छ । यो फिल्म हेरेपछि दर्शक डराएनन् । ‘कमेडी फिल्म पो रहेछ’ भन्दै निस्किए । दर्शकको मनमा निरन्तर डर पैदा गर्नु ‘हरर’ फिल्मको खास विशेषता मानिन्छ । तर, यहाँ सेतो साडी लगाएपछि दर्शक तर्सिन्छन् भन्ने सोचाईबाट फिल्ममेकर्स ग्रस्त छन् । 
 
 
आवश्यक प्रविधि र निकै कम बजेटमा निर्माण गर्नुपर्ने बाध्यता भएका कारण पनि नेपालमा स्तरिय हरर फिल्म बन्न नसकेको कतिपयको बुझाई छ । यद्यपि, वर्षमा फाट्ट-फुट्ट हरर फिल्म पर्दामा लागिरहेका छन् । ‘सुनकेसरी’ बाट दर्शकलाई तर्साएका कम ज्यादा हँसाएका निर्देशक अर्पण थापाले दोस्रो पटक हरर जनराकै फिल्म ‘घर’ लिएर आएका छन्, जुन आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
यस फिल्मको निर्देशकसँगै लेखक र कलाकार समेत रहेका अर्पणलाई ‘सुनकेसरी’ ले भड्किएका दर्शकलाई ‘घर’ बाट रिझाउनु पर्ने निकै ठूलो चुनौती छ । यसमा कति सफल हुनेछन् ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।  एक घरभित्र हुने भुत-प्रेतको कथा फिल्ममा देखाइएको छ । सुरक्षा पन्त र बेनिशा हमालको पनि यसमा प्रमुख भूमिका छ । फिल्मको ट्रेलरले धेरैको ध्यान खिचेको छ । स्तरिय नेपाली हरर फिल्मको प्रतिक्षामा रहेका दर्शकलाई ‘घर’ उपयुक्त खुराक हुनसक्ने विश्वास गरिएको छ । 
 
फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । 
Most Visited News (monthly)