वर्षौदेखि विदेशी फिल्मका कारण नेपाली फिल्मको रिलिज अस्तव्यस्त हुने गरेको छ । हलिउड र बलिउडका प्रतिक्षीत फिल्मले प्रदर्शन मिति घोषणा गर्दा त्यसको असर नेपाली फिल्मलाई नराम्रोसँग पर्ने गर्दछ । किनकि, विदेशी फिल्मसँग बक्सअफिसमा प्रतिस्पर्धा गर्न सायदै नेपाली फिल्म तयार हुन्छन् । दर्शक अभाव हुने र हल नपाउने डरले नेपाली निर्माता विदेशी फिल्मसँग भिड्ने आँट गर्दैनन् । बरु, भाग्नु बुद्धिमता ठान्दछन् ।
विदेशी फिल्मको डरले नेपाली फिल्मले घोषणा गरेको मिति छाडेका उदाहरण प्रसस्तै छन् । यो भीडमा भेट्रान निर्देशक विकास आचार्य निर्देशक फिल्म ‘हजार जुनीसम्म’ पनि परेको छ । साउन ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गएको एक महिना अगाडि निर्माण टिमले फिल्मको पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक गरेको थियो । तर, उक्त मितिमा साउथका सुपरस्टार प्रभासको ‘साहो’ आउने भएपछि यो फिल्म एकहप्ता पछाडि सरेको छ ।
.jpg)
साउन ३० मा ‘साहो’ बलिउड सुपरस्टार अक्षय कुमारको 'मिसन मंगल' र जोन अब्राहमको 'बाल्टा हाउस' पनि प्रदर्शनमा आउँदैछ । अभिनेता दयाहाङ राई स्टारर फिल्म 'दयारानी' समेत सोही मितिमा प्रदर्शनमा आउने निश्चित भइसकेको छ । तीन ठूला विदेशी फिल्मको चेपुवामा पर्ने डरले निर्देशक आचार्यले ‘हजार जुनीसम्म’ को प्रदर्शन मिति एक हप्ता पछाडि सारेर भाद्र ६ गते पुर्याएका छन् । तर, उनले प्राविधिक कारणले फिल्म एकहप्ता पछाडि सरेको बताएका छन् ।
तर, नयाँ मितिमा पनि फिल्मले सोलो रिलिजको अवसर भने पाउने छैन । यसअघि नै अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म 'जाइरा' ले भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै प्रचार-प्रसार पनि सुरु गरिसकेको छ । अब यो मितिमा दुई ठूला नेपाली फिल्मको बक्सअफिसमा गजबकै भिडन्त हुने देखिन्छ । ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।
रोचक कुरा चाहिँ के छ भने पहिलो पटक आर्यन र नम्रता बक्सअफिसमा आमने-सामने हुन लागेका हुन् । दुईको जोडीलाई पर्दामा दर्शकले निकै रुचाउने गरेका छन् । 'क्लासिक', 'नोभेम्बर रेन', 'मेरो एउटा साथी छ' फिल्ममा दुईले स्क्रिन साझेदारी गरेका थिए । पर्दामा निकै रुचाइएको रोमान्टिक जोडीको फिल्मको भिडन्त हेर्न निकै रोचक हुने देखिन्छ । यद्यपि, दुई फिल्मको जनरा भने बिल्कुलै फरक छ ।

