.jpeg)
काठमाडौं । निर्देशक शोभित बस्नेतको दुई दशकअघिको सुपरहिट फिल्म ‘अग्नि पथ’को चर्चित गीत ‘हजुरबाले भनेथे’ नाममा फिल्म बन्ने भएको छ । फिल्मलाई शोभित आफैँले निर्माण गर्न लागेका हुन् । आइतबार लक्ष्मी पूजा तथा कुकुर तिहारको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् ।
फिल्मको घोषणासँगै मुख्य भूमिकामा नीर शाहलाई अनुबन्धित गरिएको छ । शनिबार निर्देशक बस्नेतले उनीसँग लिखित सम्झौता गरेका हुन् । फिल्ममा शाहले हजुरबुबाको भूमिकामा अभिनय गर्नेछन् । फिल्मका अन्य कलाकार र प्राविधिकबारे तिहारपछि जानकारी गराइने निर्देशक बस्नेतले बताए । उनका अनुसार फिल्ममा दुई नायक र दुई नायिका रहनेछन् ।
आगामी माघमा छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्ममा कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाही प्रस्तुतकर्ताका रूपमा छन् । निरोज श्रेष्ठ निर्माता रहेको फिल्ममा नवीन घायल कार्यकारी निर्माता तथा हिमाल भण्डारी सह−निर्मातामा छन् । फिल्मको अस्ट्रेलियामा ६० प्रतिशत र जुम्लामा ४० प्रतिशत छायांकन हुनेछ ।

