.jpg)
नाम नै ‘ब्रान्ड’ भइसकेको छ निर्देशक प्रदीप भट्टराईको । ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ को सफलतापछि उनीमाथि अब दर्शक र फिल्म क्षेत्रको ठूलो विश्वास छ । आफ्नो निर्देशकीय क्षमता प्रमाणित गरिसकेका उनले व्यापारिक रुपमा तीन सफल फिल्म दिएर ह्याट्रिक समेत गरेका छन् । शनिबारबाट उनी निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ ले हलमा ५१औं दिन मनाउँदैछ । ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि ५१ दिने यात्रा पार गरेका थिए ।
तीन फिल्मले बक्सअफिसमा लोभलाग्दो सफलता हात पारेपछि उनलाई नेपालका प्रतिष्ठित ब्यानरबाट बाक्लै फिल्मको अफर आइरहेको छ । नयाँ निर्माताबाट पनि फिल्मको अफरको कम छैन । उनीसँग बजारले 'स्टार' मानेका कलाकारहरु समेत काम गर्न राजी छन् । केही महिनायता अभिनेता भुवन केसी होम प्रोडक्सनको फिल्ममा लिन तारन्तार उनीसँग भेट गरिरहेका छन् । उनलाई चौधरी ग्रुपले समेत फिल्म अफर गरेको चर्चा छ ।

तर, निर्देशक भट्टराई न हतारिएर कुनै फिल्म गर्ने गर्दछन् न त कुनै निर्णय नै । ‘जात्रै जात्रा’ को सफलतापछि उनलाई दर्जन बढी फिल्मबाट अफर आइसकेको छ । तर, अहिलेसम्म उनले कुन फिल्म गर्ने निर्णय गरिसकेका छैनन् । यद्यपि, उनले 'भद्रगोल' टिमले निर्माण गर्न लागेको फिल्म 'फनफनी' को क्याप्टेनसिप सम्हाल्ने प्रवल सम्भावना छ । उनले फिल्मको स्क्रिप्ट मन पराएका छन् । चाँडै कागजी सम्झौता हुनसक्ने स्रोत बताउँछ ।
निर्देशक भट्टराईसँग काम गर्न चाहने कलाकारहरुको लिस्टमा भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई चिनाएकी ऋचा शर्मा पनि पर्छिन् । दुईको फिल्ममा अहिलेसम्म सहकार्य नभए पनि सानो पर्दामा भने सँगै देखिँदैछन् । चाँडै टेलिभिजनमा प्रशारण हुने 'कमेडी च्याम्पियन' मा दुई निर्णायकको रुपमा छन् । सन्तोष पन्त र मनोज गजुरेल पनि छन् । उक्त शोलाई रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । केकी अधिकारी र विशाल भण्डारीले शोको निर्माण गर्नेछन् ।
.jpg)
यो शोको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । कार्यक्रममा अभिनेत्री ऋचाले निर्देशक भट्टराईसँँग काम गर्ने इच्छा रहेको धक नमानि बताइन् । उनले भनिन्, ‘प्रदीप जीसँग काम गर्ने हामी सबै कलाकारलाई इच्छा हुन्छ ।’ उनको भनाईबाट बुझ्न गाह्रो पर्दैन कि प्रदीपको फिल्मको अफरको प्रतिक्षामा छिन् ऋचा । उनले मुखै फोडेर काम गर्ने इच्छा व्यक्त गरेपछि अब प्रदीपले पनि नयाँ फिल्मका लागि सम्झलान् कि ?

