
विगत २ वर्षयता फिल्मको असफलतासँग जुधिरहेका अभिनेता प्रदीप खड्काको खातामा अर्को फ्लप फिल्म थपिएको छ । त्यो फिल्म हो, ‘एक्लो’ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर गत पुष १७ गतेबाट एकल प्रदर्शनमा आएको यो फिल्मको व्यापार घरेलु बक्स अफिसमा हरिविजोग देखिएको छ । फिल्मले दुई सातामा ५० लाखको आँकडा पनि कटाउन सकेको छैन ।

प्रेम दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’को यतिबेला देशव्यापी सांगीतिक यात्रा भइरहेको छ । नेपालगन्जबाट सुरू भएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नामक कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित हल्लनचोकमा आयोजना गरियो, जहाँ करिब ७ हजार दर्शकको उपस्थिति रहेको थियो ।

यतिबेला मौसम जस्तै नेपाली फिल्मको व्यापार पनि चिसिएको छ । गत मंसिरयता हप्तैपिच्छे नयाँ फिल्म प्रदर्शनमा आए पनि कुनैले सफलता पाउन सकेका छैनन् । बरू यही बीचमा बलिउडको ‘धुरन्धर’ र हलिउडको ‘अवतार ३’ले नेपालमा आक्रामक कमाइ गरे । तर, नेपाली फिल्म भने एकपछि अर्को गर्दै असफल हुँदा फिल्म क्षेत्रमा निराशा र अनिश्चितता बढेको छ ।

महाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘रमिताको पिरती’को र्याप गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । र्यापर कुशल पोखरेलको स्वर तथा शब्द रचना रहेको उक्त गीत माघे संक्रान्तिको दिन बुटवलमा आयोजित सांगीतिक कन्सर्टमार्फत सार्वजनिक गरिएको हो । कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेका थिए ।

माघे संक्रान्तिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘भाइरल गोर्खे’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथावस्तु, कमेडी पक्ष र अभिनेता सौगात मल्लको अभिनय निकै रूचाइएको छ । यसैले फिल्मले क्रमिक रूपमा व्यापारिक गति समात्नेमा निर्माण पक्ष आशावादी छ ।

