
केही वर्षअघिसम्म अभिनेत्री साम्राज्ञी आरएल शाहको फिल्ममा ठूलो माग थियो । डेब्यू फिल्म ‘ड्रिम्स’ सफल भएपछि उनलाई करिब ५-६ वर्ष फिल्ममा भ्याइनभ्याइ भयो । त्यसबेला उनी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा समेत चिनिन थालेकी थिइन् । तर, करिअरको उत्कर्षमा रहँदा विभिन्न विवादले उनको छवि र लोकप्रियतामा ठूलो असर गर्यो ।
एकातिर श्रृंखलाबद्ध विवाद र अर्कोतिर फिल्महरूको असफलताका कारण उनको करिअर यतिबेला सुस्ताएको छ । ५ वर्षयता हिटविहीन रहेकी उनी फिल्ममा नदेखिएकै २ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो समय उनी गुमनामजस्तै हुँदा उनकी आमा नेहा राज्यलक्ष्मी शाहको भने फिल्ममा व्यस्तता बढ्न थालेको छ । अहिले साम्राज्ञीभन्दा नेहाको माग फिल्ममा बढी देखिन्छ ।
गत वर्ष नेहाले फिल्म ‘आहुति : द वे अफ चेन्ज’मा अभिनय गरेकी थिइन् । यसमा साम्राज्ञीको पनि मुख्य भूमिका रहेको छ । यसपछि नेहाले एक्सन फिल्म ‘राम नाम सत्य’मा काम गरिन् । अब उनी विराज भट्टको निर्देशनमा बनिरहेको फिल्म ‘१२ गाउँ २’मा देखिँदैछिन् । उनले मंगलबार हेटौंडाबाट फिल्मको छायांकन सुरु गरिसकेकी छन् ।
धेरै कमलाई थाहा हुनसक्छ, नेहा गायिका पनि हुन् । उनले करिब ५ वर्षअघि गाएको ‘तिमी र म’ बोलको गीतको भिडियोमा साम्राज्ञीले अभिनय गरेकी थिइन् । त्यसमा उनको जोडी पूर्वप्रेमी देवांश राणासँग बाँधिएको थियो । यसबाहेक नेहाले ‘फुली खस्यो’, ‘मेरो आँखामा’ जस्ता गीत पनि गाएकी छन् । अब उनी गायनसँगै फिल्म अभिनयलाई पनि निरन्तरता दिने योजनामा देखिन्छिन् ।

