Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अल्फा’ ट्रेलरमा आलियाको रौद्र रूप, ऋतिकको सरप्राइज

एजेन्सी, काठमाडौं, 2026/06/17

ALPHA 2

 

यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लम्बाइको ट्रेलर एक्सन दृश्यले भरिएको छ । अभिनेत्री आलिया भट्टलाई केन्द्रमा राखिएको ट्रेलरमा उनी एक्सन अवतारमा प्रस्तुत भएकी छन् । उनले सीता पात्रको भूमिका निभाएकी छन्, जो भारत बचाउने मिशनमा छिन् ।

ट्रेलरको सुरुवात बबी देओलबाट हुन्छ, जो बाल्यकालकी आलियालाई चिनाउँदै भन्छन्, ‘यसकी आमाको नाम जानकी थियो र हामी यसलाई सीता बोलाउने छौं ।’ यसपछि आलियाले एउटा कहानी सुनाउँछिन् । बबीलाई घमण्डी राक्षसको रूपमा चिनाउँदै उनले भनेकी छन्, ‘सीता आज लंका आफैँ जलाउन आएकी छ ।’ यसपछि उनका खतरनाक एक्सन दृश्यहरू समेटिएका छन् ।

ट्रेलरमा देखाइएअनुसार फतेहको भूमिकामा रहेका बबीले आफ्नो ‘अल्फा’ मिशनका लागि आलियालाई सानैमा किडन्याप गरेर कठोरपूर्ण सैनिक तालिम दिइरहेका हुन्छन् । तर, आलिया ठूलो भएपछि बबीविरुद्ध नै विद्रोह गर्छिन् । उनी बबीको मिशन असफल पार्ने अभियानमा देखिएकी छन् । त्यसमा उनलाई अनिल कपूर र शर्वरी वाघले साथ दिएका छन् ।

ट्रेलरमार्फत निर्माताले एउटा सरप्राइज पनि दिएका छन् । ट्रेलरको अन्तिम दृश्यमा ऋतिक रोशनलाई ध्यान गरिरहेको अवस्थामा देखाइएको छ । यद्यपि, उनको अनुहार पूर्ण रूपमा देखाइएको छैन । तर, उनको आँखाले दर्शकलाई ठम्याउन गाह्रो पर्दैन । फिल्ममा उनी ‘वार’ श्रृंखलाका ‘रअ’ एजेन्ट कबीरको भूमिकामा देखिने जनाइएको छ ।

जुलाई ३ अर्थात् असार १९ गते प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यो फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । यसअघि ‘फ्यान’, ‘धुम ३’, ‘बेफिक्रे’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो । आदित्य चोपडाले फिल्मको निर्माण गरेका हुन् । यो यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो ।