
अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म ‘अक्षरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित उत्तरवाहिनी मन्दिरमा अन्तिम दृश्य खिचिएसँगै ३७ दिनमा फिल्मको छायांकन पूरा भएको हो । उक्त मन्दिरमा दुई दिनसम्म तीज गीत ‘नाचौं न बरि लै’ छायांकन गरिएको थियो ।
विनयराज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सीसहित सुशील सिटौला, रिस्ता बस्नेत, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, सृष्टि खड्का, रोनक खड्का, प्रिसा ढुङ्गानालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिने जनाइएको छ ।
हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद लेखन रहेको फिल्मको छायांकन दिपेन बस्न्यातले गरेका हुन् । यसमा द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ ।

