
इन्द्रजात्राको अवसर पारेर असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । २ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेम र जातीय विभेदको कथालाई समेटिएको छ ।
प्रेम, वियोग, रोदन, हाँसो र पीडाको मिश्रण रहेको ट्रेलरले नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदको यथार्थलाई उजागर गरेको छ । जात नमिलेकै कारण प्रेममा रहेका जोडी कसरी अलगिन बाध्य हुन्छन् र समाजमा कथित तल्लो जातका मानिसलाई कस्तो व्यवहार गरिन्छ भन्ने ट्रेलरमा देखाइएको छ । ट्रेलरले फिल्मको कथावस्तु बलियो रहेको संकेत गर्छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्कीलगायतका कलाकारहरूको रहेको छ । फिल्ममा निर्देशक लिम्बू स्वयंको लेखन छ ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्मको यसअघि ‘तिमीसँग नबोली’ र ‘जदौ हजुर’ गीत सार्वजनिक भइसकेका छन् ।

