
बलिउडका महँगा अभिनेताको रूपमा चिनिएका सलमान खानले आफ्नो पारिश्रमिक घटाएका छन् । उनले नयाँ फिल्म ‘एसभीसी६३’का लागि ७० करोड भारु पारिश्रमिक लिएको ‘फ्री प्रेस जर्नल’ले जनाएको छ । यो उनले आफ्नो सामान्य पारिश्रमिकको ५८ प्रतिशत मात्र लिएका हुन् । सामान्यतया उनले १२० करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले रोमान्टिक भावको गीत दर्शकमाझ ल्याएको हो । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ । गायनमा प्रशान्तलाई विज्ञानी पराजुलीले साथ दिएकी छन् ।


‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले ३ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ ।

द्वन्द्व निर्देशकको रूपमा परिचित सम्राट बस्नेत ४ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । पछिल्लो पटक सन् २०२२ मा ‘लाखे’ निर्देशन गरेका उनले तेस्रो फिल्मको रूपमा ‘दुर्गा’ बनाउन लागेका हुन् । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मको छायांकन असोज पहिलो साताबाट हुने जनाइएको छ ।

भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ । भगवान् शिवलाई पाउन पार्वतीले व्रत बसेको प्रसंगदेखि तीजमा दिल खोलेर नाच्ने महिलाको चाहनालाई व्यक्त गरिएको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गीतका रचनाकार सुरेन्द्र राना हुन् भने संगीत कर्णराज गिरीले दिएका छन् ।

