आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्व प्रस्ट पारेको छ । अभिनेता दिव्य देवलाई केन्द्रमा राखिएको ट्रेलरमा छोराछोरीका लागि बाबुले गर्ने संघर्ष र बुढेसकालमा सन्तानकै कारण खेप्नुपरेको दुःखलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।
आफ्नै परिवारको समस्या छोराबुहारीले नबुझ्दा बुवाआमाले भोग्नुपर्ने पीडा र जटिलतालाई समेटिएको ट्रेलरमा छोराभन्दा छोरीले अभिभावकको समस्या बढी बुझ्छन् भन्ने देखाउन खोजिएको छ । सन्तान महत्वाकांक्षी र स्वार्थी हुँदा त्यसले परिवारलाई कसरी आर्थिक संकटमा धकेल्छ भन्ने विषयलाई फिल्मले मुख्य कथावस्तु बनाएको ट्रेलरबाट प्रस्ट हुन्छ ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेवसहित झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा, माओत्से गुरुङलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । लम्सालले यसअघि फिल्म ‘कर्मा’ बनाएका थिए ।
अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा कृष्ण काफ्ले सह-निर्मातामा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायाकंन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सुरेन राईको नृत्य निर्देशन रहेको छ । फिल्मको बुटवल, धरान, दाङलगायतका सहरमा प्रिमियर भइसकेको छ, जहाँ फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ ।

