Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टंकले ‘छोरा होइन’ भनेपछि अशोकको जवाफ– ‘कर्म दिने बुवा हुनुहुन्छ’

फिल्मीखबर, काठमाडौं, 2026/09/17

tanka budathoki

 

बुधबार ललितपुरको लबिम मलमा फिल्म ‘झिँगेदाउ २’को प्रिमियर आयोजना गरिएको थियो । तर, प्रिमियरभन्दा बढी चर्चा त्यहाँ पुगेका संगीतकार तथा निर्देशक टंक बुढाथोकीको अभिव्यक्तिको भयो । लामो समय आफ्नो संरक्षणमा रहेका बाल गायक अशोक दर्जीबारे उनले गरेको टिप्पणीले यतिबेला मिडियादेखि सामाजिक सञ्जालसम्म तातेको छ ।

अशोकलाई सडकबाट उठाएर हिरो बनाएकोदेखि अशोक आफ्नो छोरा नभएकोसम्म अभिव्यक्ति दिएका टंकको सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि अशोकले यसबारे आफ्नो धारणा राखेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै टंकको भनाइलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले यस विषयलाई लिएर टंक र आफूलाई गाली नगर्न आग्रह गर्दै फेसबुकमा लेखेका छन्, ‘उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ । आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ । त्यसैले उहाँ भिडियोमा आएर बोल्नुभएको विषयलाई लिएर उहाँलाई नराम्रो नबनाइदिनुहोस् र मलाई पनि गाली नगर्नुहोस्, प्लिज ।’ 

उनले टंकलाई आफू अभिनीत फिल्म ‘पार्वती’ हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘तपाईंले ‘पार्वती’ हेर्नुभएको छ कि छैन ? हेर्नुभएको छैन भने एकपटक हेरेर मेरो र नीता दिदीको काम कस्तो लाग्यो मलाई भन्नुहोला है । तपाईं त मेरो भगवान् र गुरुजस्तै हुनुहुन्छ । मलाई यति भन्ने अधिकार तपाईंलाई छ दाइ । आई लभ यू टंक दाइ ।’

अशोक लामो समयदेखि टंकको संरक्षणमा काठमाडौंमा बस्दै आएका थिए । उनले कक्षा ८ सम्मको अध्ययन काठमाडौंमै गरे । यही क्रममा टंकले अशोकलाई मुख्य भूमिकामा लिएर फिल्म ‘मन बिनाको मन’ निर्माण गरेका थिए । यही फिल्मपछि उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ । विगत एक वर्षदेखि अशोक झापास्थित आफ्नो घरमा बस्दै आएका छन् ।