
काठमाडौं उपत्यका बाहिरका लागि औपचारिक रूपमा बक्सअफिस प्रणालीको उद्घाटन भएको छ । शनिवार सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम) को उद्घाटन गरेका हुन् । उनले असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ सिस्टम लागू हुने बताएका छन् ।

‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त फिल्म क्षेत्रमा निकै चर्चित छ । अभिनयको दमले चम्किन नसक्नेहरु आफूलाई गुमनाम हुन नदिन बदनाम अर्थात् स्क्यान्डलको सहारा लिन्छन् । नेपालमा धेरै कलाकारहरु यस्ता छन्, जो गुमनाम हुने डरले स्क्यान्डल मच्चाइरहेका हुन्छन् । केही वर्ष अगाडिसम्म अभिनेत्री रेखा थापा यो बाटोमा थिइन् । अहिले उनको पदचाप अभिनेत्री प्रियंका कार्कीले पछ्याएकी छन् ।

भेट्रान निर्देशक तुलसी घिमिरे कुशल निर्देशक मात्र होइनन् । जीवन्त अभिनय गर्ने कलाकार पनि हुन् । उनले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् । २ दशक अगाडि एकसेएक सुपरहिट फिल्म दिएका उनी निर्देशित तथा अभिनीत पछिल्लो फिल्म 'दर्पण छायाँ २' हो । तर, यो फिल्मले हलमा हावा खायो । यसपछि उनले पुनः फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छैनन् ।

नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एक समय नेपाली फिल्ममा लोभलाग्दो सफलता र लोकप्रियता हासिल गरेकी थिइन् । २ दशक अगाडिकी उनी निर्विकल्प अभिनेत्री हुन् । उनको अनुहार पोस्टरमा राखेको भरमा फिल्म हेर्न दर्शकको ठूलो भीड हलसम्म पुग्ने पर्थ्यो । तर, समय सधैं एकनास कहाँ हुन्छ र ? एक जमाना उनलाई लिड हिरोइनको अफर थेगिनसक्नु आउँथ्यो । अहिले आमाको रोल अफर आउने गरेका छन् ।

अमेरिकन फिल्म निर्माता ज्याक स्नायडरको हलिउड फिल्म 'आर्मी अफ द डेड' मा बलिउड अभिनेत्री हुमा कुरेशी अनुबन्ध भएकी छन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहने भारतीय मिडियाले बताएका छन् । पहिलो हलिउड प्रोजेक्टलाई लिएर हुमा निकै उत्साहित छिन् ।

प्रायः नेपाली फिल्मलाई पहिलो हप्ता पनि हलमा टिक्न मुश्किल पर्छ । कति फिल्म त दर्शक अभावका कारण पहिलो शोबाटै उत्रिन्छन् । बक्सअफिसमा लोभलाग्दो व्यापार गर्ने फिल्म पनि दोस्रो वा तेस्रो साताबाट ओरालो लाग्न थाल्छन् । तर, गएको जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले भने आक्रामक व्यापारलाई तेस्रो हप्ता पनि निरन्तरता दिने देखिएको छ ।

