Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेल्लो काँशीराम’ मा दीलिपको जोडी नवज्योति

फिल्मीखबर, काठमाण्डौ, 2019/07/25
 
कुनै समय नेपाली फिल्ममा लोभलाग्दो क्रेज र स्टारडम भएका अभिनेता दीलिप रायमाझी पछिल्लो केही वर्षयता अभिनयबाट टाढा छन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बाक्लिएसँगै उनको क्रेज खस्किएको थियो । र, उनी विस्तारै अभिनयबाट टाढा भए । यद्यपि, उनी फाट्टफुट्ट म्यूजिक भिडियोमा भने झुल्किरहेका हुन्छन् । तर, उनलाई फिल्ममा दर्शकले नदेखेको धेरै भइसकेको छ । 
 
उनको छोरी दिव्याको नेपाली फिल्ममा डेब्यूको चर्चा भइरहँदा अभिनेता दीलिप लामो समयपछि ठूलो पर्दामा देखिने भएका छन् । रिम विश्वकर्माको निर्माण र निर्देशन रहने फिल्म 'हेल्लो काँशीराम' मा उनको प्रमुख भूमिका रहनेछ । केही दिनयता यस फिल्मको धमाधम छायांकन भइरहेको छ । फिल्म कमेडी जनरामा निर्माण हुने बताइएको छ । 
 
नवज्योति रसाइलीसँग फिल्ममा दीलिपले रोमान्स गर्नेछन् । पी.बि.थापा सह-निर्माता रहेको फिल्मलाई यम आले मगरले खिचिरहेका छन् । जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । फिल्मको छायांकन २५ दिनमा सक्ने निर्माण टिमको लक्ष्य छ । 'हेल्लो काँशीराम' मा शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ । 
 
फिल्ममा दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । दिलिप र नवज्योतिको अलावा फिल्ममा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँडलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता दीलिपले राम्रो स्क्रिप्ट र दमदार भूमिका भएका कारण फिल्म गर्न राजी भएको बताएका छन् । 
Most Visited News (monthly)