अभिनयको कहिल्यै चर्चा नभए पनि अभिनेत्री आँचल शर्माको हातमा फिल्मको कमी भने छैन । डिमान्डेड अभिनेत्रीको सूचीमा उनको नाम अग्रणी स्थानमा आउँछ । पछिल्लो पटक फिल्म 'दात भात तरकारी' मा देखिएकी थिइन्, उनी । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा कमाए पनि उनको अभिनयको तारिफ भएन । हुनत, फिल्मले पनि राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन । यद्यपि, हलमा भने फिल्मले ५१ दिन मनायो ।
उक्त फिल्म रिलिज नहुँदै उनले ‘दुई रुपैयाँ’ टिमको नयाँ फिल्म ‘डामाडोल’ साइन गरेकी थिइन् । तर, अहिलेसम्म यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । सम्भवतः दशैंपछि फिल्म फ्लोरमा निस्कनेछ । यसबीच, उनले नयाँ फिल्म साइन गरेकी छन् । कुनै समय एकसेएक सुपरहिट फिल्म दिएका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्म ‘झिँगेदाउ’ मा उनको प्रवेश भएको हो ।
 (3)(1).jpg)
हिजो (बुधबार) उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि उक्त फिल्ममा अभिनेत्री केकी अधिकारी र फिल्म ‘बुलबुल’ मा चोपेन्द्रको भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका मुकुन भुषाल फाइनल भइसकेका छन् । फिल्ममा केकी र आँचलको प्यारालल भूमिका रहेको निर्देशक देउजाले बताए । उनका अनुसार, फिल्म महिला केन्द्रित छ ।
अभिनेत्री आँचलले फिल्ममा आफ्नो भूमिका शक्तिशाली रहेको बताएकी छन् । उनी यस फिल्ममा आफूले अभिनय देखाउन पाउनेमा विश्वस्त छिन् । उक्त फिल्ममा केकी र मुकुनको जोडी बाँधिनेछ । भने, आँचलको खुलाइएको छैन । उनको जोडी चाँडै फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा सार्वजनिक गरिने निर्देशक देउजाले बताए । फिल्ममा अन्य २ कलाकार पनि मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।
कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने फिल्मलाई विष्णु कल्पितले खिच्नेछन् । भदौबाट छायांकन सुरु हुने फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर बन्न लागेको फिल्मको पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।

