
अभिनेता अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले बक्सअफिसमा धूम मच्चाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण प्रदर्शनको दिनदेखि नै आक्रामक व्यापार गरिरहेको फिल्मले प्रदर्शनको ६ दिनमा सय करोडको आँकडा पार गरेको छ । यो अजयको सयौं फिल्म समेत हो । दर्शकले उनको करिअरको यो महत्त्वपूर्ण कदमलाई यादगार बनाएका छन् ।

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर बुधवार झापाको विर्तामोडबाट फिल्मको छायांकन सुरु भएको हो । छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले फिल्मको नाम अंकित केक काटेर सेलिव्रेसन गरेको थियो । रञ्जित रौनियारले फिल्मको निर्देशन गर्नेछन् ।

हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको टाइटल बोल्ने ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ले प्रचार-प्रसारलाई तिव्रता दिन हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । फिल्मको थिम अनुसार घोषणा गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहनेले कमेडी हाउभाउमा खिचिएको सेल्फी ‘हाम्रो कम्युनिटी’ मा पोष्ट गर्नुपर्ने बताइएको छ ।

अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । फिल्ममा उनको जोडी विराजसँग बाँधिएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरले राम्रो हाइप निर्माण गरेको फिल्मलाई उत्कृष्ट बनाउन विराजले कुनै कसर छाडेका छैनन् ।

आउँदो फागुन २ गतेलाई रिलिज क्यालेन्डर रोजेको अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा स्टारर लभस्टोरी फिल्म ‘लभ डायरिज’ को कलरफूल टिजर सार्वजनिक भएको छ । टिजरले सुशील र रुविनाको प्रेम र विछोडको कथा बोल्छ । उनीहरुले बोलको प्रेमिल र वियोगान्त संवाद मन छुने छन् । दुईबीचको प्रेम, रोमान्स र विछोडका दृश्य पनि टिजरमा अटाइएको छ ।

