Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

लकडाउनमा निखिलको फेरिएको लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2020/07/06
विश्वभर विपत्त निम्त्याएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले तीन महिना विकल्पहीन रुपमा लकडाउन गर्‍यो । संक्रमणको डरले आम सर्वसाधारण सरकारको निर्णयको पालन गरेर घरभित्रै बसे । धनाड्यलाई लकडाउनले खासै प्रभाव पारेन । तर, दिनहुँ ज्यालादारी गरेर परिवारको गुजरा चलाउने श्रमिकलाई रोगले भन्दा भोकले मर्ने डरले पिरोल्न थालेको थियो ।
 
रोजीरोटीका लागि आम सर्वसाधारणले लकडाउन उल्लंघन गर्न थालेपछि सरकार पनि घुँडा टेक्न बाध्य भयो । गएको महिनादेखि लकडाउनलाई लुजडाउनमा परिणत गरिएको छ । कम जोखिमका विभिन्न क्षेत्र खोलिएको छ । तर, मनोरञ्जन क्षेत्र लकडाउन अन्त्य नभएसम्म पुनः सञ्चालनमा आउने सम्भावना न्यून छ । गएको तीन महिनादेखि फिल्म क्षेत्रमा कुनै गतिविधि भएका छैनन् ।
 
 
फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । तीन महिनादेखि घरमै परिवारसँग समय विताइरहेका उनीहरु काममा फर्किने प्रतिक्षामा छन् । लकडाउनले घरभित्रै सीमित हुँदा कति मोटाएर चिन्तित छन् । कति संक्रमणको डरले दाह्री र कपाल काट्न सैलुनसम्म जान सकेका छैनन् । लकडाउनमा धेरै अभिनेताको लुक्स नै बदलिएको छ । 
 
कोरोनाको भयले लामो समयदेखि घरको चारकुनामा सीमित रहेका एक्सन अभिनेता निखिल उप्रेतीको लुक्स पनि निकै फेरिएको छ । केही दिनअघि उनले आफ्नो आधिकारिक फेसबुकमा एक तस्विर साझेदार गरेका छन्, जसमा उनलाई लामो कपाल र दाह्रीमा देख्न सकिन्छ । झट्ट हेर्दा उनलाई ठम्याउन पनि मुश्किल पर्छ । यद्यपि, बढेको कपाल र दाह्री उनलाई सुहाएको भने छ ।
 
उनको बदलिएको लुक्स नयाँ फिल्मका लागि त होइन ? किनकि, उनी ‘भैरव’ को सिक्वेलको तयारीमा छन् । ‘आयो भैरव’ नाम राखिएको फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् । स्थिति सामान्य भएको थियो भने यतिबेला उनी फिल्मको छायांकन गरिरहेका हुन्थे । तर, लकडाउनका कारण फिल्म फ्लोरमा जान सकेन । दर्शकहरु अभिनेता निखिललाई पर्दामा हेर्न निकै आतुर छन् । 
Most Visited News (monthly)