Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

गायक अरुण थापाको बायोपिकमा प्रदीप ?

फिल्मीखबर, काठमाडौं, 2020/07/06
पछिल्लो समय बलिउडमा वास्तविक घटना र कसैको जीवनमाथि आधारित भएर फिल्म निर्माणको होडबाजी चलिरहेको छ । ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘सुल्तान’, ‘धोनी’ जस्ता फिल्म सफल भएपछि बायोपिक फिल्म निर्माणमा निर्माता तथा निर्देशकहरु आकर्षित भएका छन् । नेपालमा भने उति धेरै बायोपिक फिल्म निर्माण भएका छैनन् । बनेका पनि दर्शकले रुचाएका छैनन् । 
 
यस्तैमा, एक चर्चित व्यक्तिको जीवनीमा नेपाली फिल्म निर्माण हुन लागेको खबर बाहिरिएको छ । लभस्टोरी फिल्म निर्माणमा आफूलाई अब्बल सावित गरेका निर्देशक दिनेश राउत र अहिलेका हटकेक अभिनेता प्रदीप खड्काबीच टिमअप भएको प्रोजेक्ट गायक अरुण थापाको बायोपिक रहेको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । 
 
 
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्ममा गायक थापाको गायन यात्रादेखि प्रेम जीवनसम्म समेटिनेछ । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘चोट के हो, बेथा के हो’, ‘जति माया लाए पनि’ लगायत दुई दर्जन बढी लोकप्रिय गीतमा स्वर भरेका गायक अरुण थापाको भूमिका पर्दामा प्रदीपले निभाउनेछन् । ५० वर्षअघिको सेटअपमा फिल्म तयार गरिनेछ । 
 
०५६ साउन ५ गते यस संसारबाट बिदा भएका गायक थापाकी एक छोरी छिन्, करुण थापा । उनी अष्ट्रेलियामा बस्ने गरेकी छन् । बायोपिक फिल्म बनाउन सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति चाहने हुँँदा निर्देशक दिनेश थापाको टिम गायक अरुण थापाकी छोरीसँग भेट गर्ने सोचमा रहेको स्रोतले बताएको छ । केही हप्तादेखि फिल्मको स्क्रिप्टमा भने काम भइरहेको छ । 
 
स्रोतका अनुसार, गायक अरुण थापाको २१औं स्मृति दिवसको अवसरमा साउन ५ गते फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई प्रभु बैंकमा आबद्ध एक व्यक्तिले निर्माण गर्न लागेको जानकारी प्राप्त छ । फिल्मको कथा विकास सुवेदी र निर्देशक राउतले मिलेर लेखिरहेका छन् । अर्को वर्षको सुरुवातमा फिल्मको छायांकन हुने बताइएको छ । 
Most Visited News (monthly)