
अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’बाट रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले आगामी साउनमा मञ्चन गर्न लागेको उक्त नाटकमा सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । गीतमा प्रेमको भावना पोखिएको छ ।

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सकाएका छन् । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतबाहेकको छायांकन भने केही साताअघि नै पूरा भइसकेको थियो ।

नलेखिएको कानुनको कथामा आधारित भनिएको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक उक्त गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द रचना तथा एसडी योगीको संगीत रहेको छ । गीतका शब्दहरु रमाइला र प्रेमिल सुनिन्छन् । यसको संगीतले दर्शकमा नृत्यको मुड जगाउन सक्छ ।

कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ एकपटक फेरि फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन् । आफ्नो निर्देशनमा बन्ने गरी २०८० सालमा दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’को घोषणा गरेर पनि निर्माण गर्न नसकेका उनले अब फिल्म ‘मैझारो’ बनाउने भएका छन् । सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले फिल्मबारे जानकारी गराए ।

आगामी फागुन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कल्ली’लाई हिन्दी भाषामा स्वरांकन गरेर भारत र पाकिस्तानमा एकसाथ प्रदर्शन गरिने भएको छ । फिल्मको हिन्दी भर्सन नेपालमा भने रिलिज नहुने निर्माता किरण नेपालीले बताए । उनका अनुसार फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानमा हिप्पो फिल्म्सले वितरण गर्नेछन् ।

